काठमाडाैं : पुनर्निर्माण भइरहेकाे धरहराकाे काम राेकिएकाे छ ।
स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको हाे । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले अवरोध गरेका थिए ।
धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार १३ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कार्य स्थानीयको अवरोधपछि अनिश्चित बनेको छ ।
स्थानीय व्यापारी अनिता बुढाथोकीका अनुसार ६ महिनायता पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गरे पनि सुनुवाइ नगरेपछि काम नै अवरुद्ध गर्न स्थानीय बाध्य भएका हुन् । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दबाब दिँदै आएका छन् ।
पुरातत्त्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलबीच पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग छलफल भइरहेको जानकारी दिए ।
धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल भइरहेको र शुक्रबार नै निर्णय हुने पनि जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६