भोजपुर : भोजपुर जिल्लाका ग्रामीण क्षेत्रमा पनि सडक नपुगेको ठाउँ नै छैन । तर अहिले आएर कच्ची सडकको पनि स्तरोन्नति हुन थालेपछि स्थानीयबासीमा उत्साह थपिएको छ ।
भोजपुरका स्थानीय नवीन पराजुली भन्छन्, ‘धुले तथा कच्ची सडकको स्तरोन्नति हुन थालेको छ, यसले सडक सञ्जाल पनि राम्रो भयो गाउँ र बजारको सम्बन्ध पनि नजिक भए जस्तो हुन्छ ।’
विश्व बैंकको एसएनआरटीपी कार्यक्रम अन्तर्गत करिब ३० करोड रुपैयाँको लागतमा अहिले जिल्लामा ग्रामीण क्षेत्रहरू जोड्ने सडकको स्तरोन्नतिको काम भइरहेको छ । कच्ची सडकको स्तरोन्नति हुन थालेपछि स्थानीयले खुसी भित्रिने महसुुस गरेका हुन् ।
एसएनआरटीपीको कार्यक्रम अनुसार भोजपुर–मानेभञ्याङ–घोडेटार, ४८ किलोमिटरमध्ये १२ दशमलब पाँच किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । त्यस्तै भोजपुर–दिंला सडकखण्डमध्ये पानीट्यांकीबाट बाघखोरसम्मको १३ दशमलव ३६ किलोमिटर सडकको स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।
स्थानीय बलराम राई भन्छन्, ‘विगतमा सानो बाटो थियो, हिँडडुल गर्न पनि समस्या थियो । तर अहिले आएर सडक पनि ठूलो पार्न थालेपछि हामीलाई उत्साह थपिएको छ ।’
सोही कार्यक्रमअन्र्तगत तिवारीभञ्याङदेखि सानोदुम्मा हँुदै ठूलोदुम्मासम्मको ३० किलोमिटर सडक र दलगाउँदेखि ओख्रेसम्मको ३० किलोमिटर सडकमध्ये १५ किलोमिटर सडक पनि मर्मत भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । दुवै सडकको १५÷१५ किलोमिटर सडकको भने यसअघि नै मर्मत कार्यसम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डी निर्माणाधीन अवस्थामा रहेका योजनाको गुणस्तर कायम गरी समयमा सम्पन्न गराउन नियमितरुपमा अनुगमन गर्ने प्राविधिक सहयोग लगायतका कार्यमा कार्यालयले पनि सहयोग गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘सडकको गुणस्तर कायम राख्न ल्याबको समेत ज्यवस्था गरिएको छ । कतै काममा गुणस्तर देखिएन भने परीक्षण पनि हुन्छ ।’
सडक निर्माणमा खटिएका निर्माण व्यवसायीहरू पनि आफूले पाएको काम समयमा सम्पन्न गर्न पाएमा अर्को काम गर्न सहज हुने बताउँछन् । निर्माण व्यावसायी नारायण राई भन्छन्, ‘वर्षात्का कारण सडक निर्माण कार्यमा केही समस्या देखिए मात्रै हो, नभए सडक निर्माणको कार्य तीव्र गतिमा हुन्छ ।’
यता भोजपुरदेखि टक्सार विमानस्थल जोड्ने सडकको पनि निर्माण कार्य सुरु गरिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सडकको शिलान्यास गरेसँगै निर्माणको काम पनि सुरु भएको निर्माण व्यवसायी श्याम श्रेष्ठले जनाए ।
श्रेष्ठ भन्छन्, ‘भोजपुर बजारबाट टक्सारमा रहेको एक मात्र विमानस्थलसम्म जोड्ने कालोपत्रे सडक निर्माणको काम सुरु भइसकेको छ, तोकिएको समयभित्रै निर्माण पूरा गरेर हस्तान्तरण गरिने छ ।’ सो सडकको लम्बाई भोजपुरबाट छ किलोमिटर छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६