काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै समाजवाद स्थापना भइहाल्ने अवस्था नरहेको बताएका छन् ।
उनले २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नै नेपाल समाजवादमा पुग्ने अवस्था नभएको बताए । भने, ‘हामी सामाजिक न्याय, सामाजिक सुरक्षासहित निजी, सहकारी र सार्वजनिक क्षेत्रको बिचमा राम्रो सहकार्यका साथ नेपाललाई समाजवादको आधार निर्माण गर्ने ठाउँमा छौं । समाजवाद स्थापना भइहाल्ने अवस्था छैन । हामी समाजवादमा पुग्न चाहन्छौैं, तर कसैको कल्पना, आग्रह र चाहानाले मात्रै समाजवाद हुने कुरा होइन । त्यसका लागि सचेत प्रयत्न ठोस धरातलमा, ठोस परिस्थितमा मात्रै हुन्छ । धरातल छाडेर सचेत प्रयत्न हुँदैन ।’
त्यस्तै आफूहरुले अन्धो भएर पार्टी एकता नगरेको भन्दै वैचारिक धरातलमा टेकेर नै पार्टी एकता गरेको बताए, ‘विचारलाई जडता र संकीर्णतामा बुझेको भए, धर्मशास्त्र, बाइबल, कुरान र गीताको रुपमा बुझेको भए, तत्कालीन एमाले र तत्काली माओवादी केन्द्रबीचको एकता सम्भव हुने थिएन । हामीले देशलाई वैज्ञानिक समाजवादतर्फ लैजाने आँट गर्नेछौं भनेका छौं ।’
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६