काठमाडौं : महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महिना पहिले जागिर छाडिन् । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उनले जागिर नै छाड्नुपरेको हो ।
पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताईन् । रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको उनको अनुभव छ । पारिश्रमिकका हिसाबले सन्तोषजनक भए पनि यातायातको साधन नपाउँदा जागिर छाड्नुपर्दा उन दुःखी छिन् रातको समयमा नचिनेको मान्छेको साधनमा हिँड्न आफैँलाई पनि सुरक्षित महसुस हुँदैन र परिवारलाई पनि सधैँ चिन्ता हुन्छ ।
कार्यालयमा साँझसम्म काम गर्दा यातायातका साधन नपाएर दैनिक हैरान भइरहेको भक्तपुर ताथलीकी सुनिता दुलालले सुनाईन् । बागबजारस्थित एउटा निजी संस्थामा कार्यरत उन कार्यालयबाट दैनिक साँझ ६ बजे निस्कनुपर्छ । कार्यालयमा काम गरिरहँदा दिउँसो नै घर कसरी फर्कने भन्ने चिन्ता हुने गरेको उनले बताईन् । कहिलेकाहीँ बस तोकिएको समयभन्दा पहिले नै गइसक्दा उन हैरान हुन्छिन् । रातको समयमा बस नपाउँदा उन बीच बाटोसम्मको बसमा जाने र त्यसपछि परिवारका सदस्यलाई लिन बोलाउछिन् हामी शहरी क्षेत्रबाट केही टाढा घर भएकालाई साँझमा गाडी नपाउँदा काम गर्न साह्रै गाह्रो छ ।
काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन नहुँदा यात्रु हैरान छन् । उपत्यकाका शहरी क्षेत्रमा भन्दा पनि काँठ (काठमाडौँ आसपासका ग्रामीण क्षेत्र) मा जाने बस साँझ परेपछि चल्दैनन् । उपत्यकामा सार्वजनिक सवारीसाधन अपराह्न (कार्यालय छुट्ने समय) पछि पातलो हुँदै जाने र छ/सात बजेपछि ठप्प नै हुने गरेको पाइन्छ ।
कतिपयले रातको समयमा सवारीसाधन नचल्ने कारणले गरिरहेको कामसमेत छाड्न बाध्य छन् । दिउँसो विद्यालयमा पढाउँदै आएका ललितपुर बाँडेगाउँका अमन कार्की केही समय पहिलेसम्म साँझमा दुई ठाउँमा ट्युसन पढाउथ्ाे । घर फर्कनका लागि सवारीसाधन नपाएर पटकपटक समस्या भएपछि अहिले उनले एउटा ठाउँमा मात्रै पढाउछन् । काठमाडौँको महङ्गीका कारण अतिरिक्त काम गर्नुपर्ने बाध्यता भएको उनले बताए । अहिले उन मोटरसाइकल सिकेर पनि थप काम गर्ने सोचाइमा छन्मो । माेटरसाइकल किन्ने रहर नभए पनि बाध्यता बनेको उनले बताए । आफ्नो साधन नहुँदा सार्वजनिक यातायात चढेर १० देखि पाँच बजेसम्म काम गर्न मात्रै ठिक्क हुन्छ । कि त अतिरिक्त काम नगर्ने कि आफूले साधन किन्नुपर्ने बाध्यता छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले अहिले काठमाडौँ उपत्यकाभित्रै चल्ने रात्रिबस नभएको र तत्काल चलाउन कुनै योजना पनि नभएको जानकारी दिए । होटल रेष्टुरेन्टलगायतका रातिसम्म सेवा दिनुपर्ने ठाउँमा काम गर्नेका लागि रात्रिकालीन यातायात आवश्यक भएको उनको जोड छ । रात्रिबस सञ्चालन सङ्घीय सरकारले मात्रै नभएर स्थानीय सरकारले समेत गर्नसक्ने उनले बताए । उनले भने, स्थानीय सरकारले पनि आपसमा समन्वय गरेर रात्रिकालीन सवारीसाधन सञ्चालन गर्न सक्छ ।
राति अबेर मात्रै नभएर काठमाडौँवासीले साँझदेखि नै सार्वजनिक यातायात सजिलै नपाउने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । साँझ पाँच/छ बजेपछि नै सार्वजनिक यातायात कम हुँदा यात्रु अलपत्रमा पर्ने गरेको उनले बताए । काठमाडौँ उपत्यकामा रात्रिकालीन बसको आवश्यकता बढिरहेको उनले औँल्याए, साँझदेखि नै सवारीसाधन नपाएर कुरिरहेका यात्रुहरु चोकचोकमा भेट्न पाइन्छ ।
काठमाडौँ र ललितपुर महानगरपालिकाको समेत शेयर रहेको साझा यातायातले २० नयाँ बस भित्र्याइरहेको छ । यी बसमध्ये कतिपय रात्रिकालीन सेवामा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको दुवै महानगरपालिकाले जनाएका छन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नगरभित्र रात्रिकालीन सवारीसाधनको आवश्यकता रहेको बताए । एउटा नगरपालिकाले मात्रै नभएर उपत्यकामा रहेका सबै नगरपालिका आपसमा मिलेर रात्रिबस सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । उनले भने, नगरपालिकाको फोरमको बैठकले निर्णय नै गरेर पनि चलाउन सक्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६