लेखनाथ न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका उनलाई प्रष्ट विचार राख्ने नेताका रूपमा हेरिन्छ ।
नेपाली राजनीतिको नैतिक मूल्य ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गर्ने नेकपा नेता न्यौपाने अब पार्टीभित्र नेतृत्व नयाँ पुस्तामा आउनुपर्ने बताउँछन् । उनै नेकपाका नेता न्यौपानेसँग नेकपा एकताको एक वर्ष, कम्युनिष्ट आन्दोलनका चुनौती र अबको बाटोका बारेमा आजको न्युजकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार प्रस्तुत छ ।
दुई ठूला कम्युनिष्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति घोषणा भएको एक वर्ष पुगेको छ । व्यक्तिगत र सांगठनिक रूपमा यो एक वर्ष कस्तो रह्यो ?
संयोग कस्तो परेछ भने गत वर्ष जेठ ३ गते केन्द्रीय समितिसहित केही आधारभूत विषयवस्तुहरू घोषणा गरेको दिन थियो । आज ठीक एक वर्ष पुगेछ । मूलतः दुईखाले अनुभूति हुन्छन्– संस्थागत र व्यक्तिगत । संस्थागत अनुभूति केन्द्रीय समिति बन्यो । सचिवालय र स्थायी समिति बने । त्यसपछि किस्तामा विस्तारै प्रदेश र जिल्लाको नेतृत्व चयन भयो । त्यसको गति अत्यन्त धिमा हो । तैपनि संस्थागत केही निर्णयहरू हुँदै अघि बढ्यो । त्यो संगठनात्मक जीवन मात्र थियो । संगठनभन्दा अगाडि छलफल गर्नुपर्ने केही विषयहरू थिए ।
फरक फरक कार्यदिशामा हामी अगाडि बढेका थियौँ । एकता पछाडि कार्यदिशा के हुने ? त्योभन्दा अगाडि सैद्धान्तिक आलोक के हुने ? वैचारिक पक्ष के हुने ? भन्नेबारेमा प्रवेश गर्नै पाएका छैनौँ । सैद्धान्तिक, वैचारिक र कार्यदिशाका बारेमा छलफल नगरी शुद्ध संगठनका बारेमा छलफल गर्दा यो एक वर्ष अत्यन्त धिमा गतिमा अघि बढ्यो ।
व्यक्तिगत अनुभूति भन्नुहुन्छ भने यो एक वर्ष पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी भनियो । त्यसबाहेक अर्को कुनै भूमिका निर्वाह गर्ने हामीसँग कार्य विभाजन भएन । त्यसकारण एक वर्ष केन्द्रीय समितिका सबै साथीहरू बेरोजगार भइयो । कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य एक वर्ष बेरोजगार हुने भनेको असाध्यै अप्रिय र आन्दोलनलाई घाटा हुने विषयवस्तु हो भन्ने मेरो अनुभव छ ।
हामीले नयाँ परिणाम दिने हो भने राज्यसत्ताका पुराना आयामहरू फेर्नुपर्छ कि पर्दैन ? बहस त्यहाँ गनुपर्यो नि ! पहल त्यहाँ गर्नुपर्यो । निष्कर्ष निकाल्नुपर्यो ।
दुई ठूला कम्युनिष्ट पार्टी एकता भयो । कम्युनिष्टको बलियो सरकार बन्यो । अब गरिबको मुक्ति हुन्छ, समृद्धि हुन्छ भनेर नागरिक तहमा आशा थियो । पार्टी एकताका क्रममा शीर्ष नेतृत्वले पनि जनतालाई ठूलै सपना देखाएको थियो । अहिले हेर्दा त्यतिबेला भनिएका कुरामा आशा गर्ने ठाउँ बढी छ कि निराशा मात्र ?
तपाईंले भनेजस्तै अपेक्षा असाध्यै ठूलो राखिएको हो । चुलिएको अपेक्षा हो । इमान्दार हुँदा र गतिशील हुँदा पनि त्यो चुलिएको अपेक्षा पूरा गर्नसक्ने अवस्था हाम्रो होइन । गतिशील पनि नहुँदा र इमान्दार पनि नहुँदा त त्यो धेरै भासिएको कुरा भइहाल्यो । हामीले एकता केलाई केन्द्रमा राखेर गर्यौँ ? कुन उद्देश्यलाई केन्द्रमा राखेर एकता गर्यौँ ? भन्ने विषय त्यो अपेक्षासँग जोडिएर आउँछ ।
हामीले चुनाव जित्नकै निम्ति, ‘पावर इन्जोय’ गर्नकै लागि, केही थान नेताहरूलाई पद, सुविधा सुरक्षित गर्नैका लागि एकता गरेका हौँ भने यो विषय नकारात्मक परिघटनाका रूपमा विसर्जन हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यवस्थित ढंगबाट संस्थागत गर्ने, जनताको सेवामा, मुलुकको समृद्धिमा लगाउने दीर्घकालीन उद्देश्यले हो भने यो उत्साहजनक ढंगले अगाडि जानुपर्ने हुन्छ ।
एक वर्षलाई हेर्ने हो भने मैले भनेको पहिलो विषय बलशाली हो कि जस्तो देखिन्छ । मुलुकको समृद्धि र जनताको सेवामा कम्युनिष्ट हुनुको नाताले पूरै ध्यान दिनुपर्थ्यो । त्यसो गरेका छैनौँ । चुनाव जित्नका लागि एकता गरेका हौँ, शक्तिमा रमाउनुपर्छ भन्ने सन्देश जाने खतरा अहिले देखिन्छ । जनताको सेवा र मुलुकको समृद्धिमा ज्यान फालेर काम गर्नका लागि एकता हो, त्यसका लागि हाम्रो नेतृत्वमा सरकार हो भनेर विषयवस्तु संगठित हुन सकेन ।
व्यवस्था फेर्न हिँडेका तपाईंहरू फेरिनुभयो । जसरी पहिला सरकार चल्थ्यो, अहिले पनि उसैगरी चलेको छ । अहिले सरकारले बजेट ल्याउने तयारीमा छ, त्यो पनि उस्तै छ । यसरी समृद्धिको यात्रा सम्भव छ ?
हामीले नयाँ परिणाम दिने हो भने राज्यसत्ताका पुराना आयामहरू फेर्नुपर्छ कि पर्दैन ? बहस त्यहाँ गनुपर्यो नि ! पहल त्यहाँ गर्नुपर्यो । निष्कर्ष निकाल्नुपर्यो । दोस्रो, बजेटको कुरा गर्ने हो भने बजेटको खर्च न्यून प्रतिशत मात्र भयो । यस्तो किन भयो भनेर अर्थशास्त्रीहरूको विश्लेषण सुन्दा हामीले परिपक्व नभएका योजनाहरूमा जबर्जस्त राजनीतिक शक्तिको आडमा प्रवेश गराएका छौँ । त्यसकारण कार्यान्वयनमा जान सकेन ।
तपाईंसँग तागत छ भने छलफल नै नभएका, आवश्यकता नै नभएका योजनाहरू पनि पर्छन् । त्यो काम अगाडि बढ्दैनन् । जसको शक्ति छैन भने आवश्कता भए पनि त्यहाँ बजेट पर्दैन, योजना पर्दैन । यो ट्रेन्डलाई हामीले बदल्नुपर्छ ।
मैले के भनेको छु भने सांसदहरूको काम मन्त्री हुने, बजेट बनाउने, आफ्नो निर्वाचन क्षेत्रमा भएभरका सकेका जति बजेट खन्याउने र छिमेकी निर्वाचन क्षेत्रलाई टुहुरो बनाउने होइन । सांसदको काम कानुन बनाउने हो । संविधान संशोधन गर्ने हो । सांसदहरूलाई मन्त्री बनाउने पद्धतिबाट हामी अर्को ठाउँमा जानुपर्छ । विज्ञ समूहबाट मन्त्री बनाउनुपर्छ । सांसदहरूलाई कानुन निर्माण गर्ने र सविधान संशोधन गर्ने मात्र जिम्मा दिनुपर्छ । यसो भयो भने राजनीति मितव्ययी हुन्छ । राजनीति नैतिक बलमा अडिन्छ । राजनीतिले मुलुकलाई सकारात्मक सन्देश दिन्छ ।
राजनीति भनेको जनतालाई तर्साएर सामाजिक हैसियत प्राप्त गर्नु होइन । सुरक्षा खतरा नभए पनि अगाडि पछाडि सेनाका, प्रहरीका भ्यान कुदाएर ठालु हुने संस्कारबाट राजनीतिलाई माथि उठाउनुपर्यो । त्यसको नेतृत्व कम्युनिष्टले गर्नुपर्यो
खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ संसदीय व्यवस्था हो भनेर त्यसका विरुद्ध एक दशक सशस्त्र संघर्ष गर्नुभयो तर घुम्दैफिर्दैै रुम्जाटार नै आइपुग्नुभयो । यसरी हेर्दा कहिलेकाहीँ व्यर्थ लडिएछ, गलत ठाउँमा आइपुगियो भनेर हीनताबोध वा निराशा पनि उत्पन्न हुँदैन ? कि ठीकै ठाउँमा आइयो भनेर चित्त बुझाउने ठाउँ भेट्नुहुन्छ ?
मान्छेको मन भएको हुनाले सकेण्ड सेकेण्डमा परिवर्तन हुन्छ । कुनै बेला त्यस्ता सेकेण्डहरू आउँछन्, तपाईंले भनेका जस्ता प्रश्नहरूले प्रवेश पाउँछन् नै । तर विषय के हो भने हामीले इतिहास जसरी निर्माण गर्यौँ, त्यो इतिहासप्रति व्यक्तिगत र संस्थागत हिसाबले कति पनि हीनताबोध मसँग छैन ।
हामी भर्खर कलेज पढ्दै थियौँ । निजी जीवनका सबै आयामहरू छाडेर सामूहिक जीवनको पक्षलाई अगाडि बढाउने भनेर सबै लाग्यौँ । त्यो खालको सोचाइलाई सामान्य रूपमा लिनुहुँदैन, अहिले जहाँ आइपुगे पनि ।
हाम्रो त्यही लगानी, बुझाइ र उच्चस्तरको चेतनाको कारणले असम्भव भनिएका कतिपय राजनीतिक प्रणाली नेपालमा फेर्यौँ पनि । मेरै बुबा म जनयुद्धमा हिँड्दा राजाको विरुद्ध लड्ने भनेको कुरा असम्भव हो भन्नुहुन्थ्यो । बुबाको छोरो राजतन्त्रविरुद्ध लडेर राजतन्त्र समाप्त गरिएको छ । हामीले केही परिवर्तन पनि गर्यौँ ।
तर तपाईंले भनेजस्तो परिवर्तनको अनुभूति आमनागरिकले गर्न पाएका छन् र ?
राजतन्त्रका विरुद्ध लडेर गणतन्त्र ल्यायौं भनेर मात्र अब थेग्ने अवस्था छैन । अनिवार्य दुईवटा काम हामीले गर्नुपर्नेछ । पहिलो, म नेता हुनुको नाताले, अगुवा हुनुको नाताले मेरो जीवन पारदर्शी हुनुपर्नेछ । जनताको जीवनभन्दा धेरै माथि मेरो जीवन गयो भने गणतन्त्र थेगिँदैन । दोस्रो, जनतालाई दिने सेवा राजतन्त्रमा भन्दा सहज ढंगले प्राप्त गर्यौँ है भन्ने अनुभूति दिनसक्नुपर्छ ।
यति काम गर्यौँ भने माओवादीले जनयुद्धमा बगाएको रगत, पसिना, आँसु सही रहेछ भन्ने ठाउँमा हामी पुर्याउँछौँ । त्यो अझै बाँकी छ ।
नागरिकहरूले हिजोको राजाकै शैलीमा गणतन्त्रका राष्ट्रपति, प्रधानमन्त्रीको चालढाल देखियो भनेर आलोचना गरिरहेका छन् । उही पुरानै ‘शाही ठाँट’को नक्कल गर्नका लागि गणतन्त्र ल्याइएको होइन होला । राष्ट्रपति, प्रधानामन्त्री सडकमा हिँड्दा नागरिकलाई सास्ती नदिईकन हिँड्नका लागिचाहिँ केले समस्या पार्दोरहेछ ?
यो आलोचना नियत खराब नराखीकन भनेको हो भने सही छ । नेपालीमा एउटा उखान छ, नपाउनेले के पायो बोक्रैसम्म खायो । राजनीति भनेको जनतालाई तर्साएर सामाजिक हैसियत प्राप्त गर्नु होइन । सुरक्षा खतरा नभए पनि अगाडि पछाडि सेनाका, प्रहरीका भ्यान कुदाएर ठालु हुने संस्कारबाट राजनीतिलाई माथि उठाउनुपर्यो । त्यसको नेतृत्व कम्युनिष्टले गर्नुपर्यो तर त्यहाँ कांग्रेसहरू पनि सहभागी हुनुपर्यो ।
कुनै पनि सुरक्षा थ्रेट नभएका पूर्वमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, पूर्वउपप्रधानमन्त्रीहरू गाउँमा जाँदा, समाजमा जाँदा, आफ्ना मतदाताकहाँ जाँदा आतंकित हुनेगरी जानुभएन । सुधारको सुरुवात यहीँबाट गर्ने हो राजनीतिक तहमा । गर्नै पर्छ, यो नगरी हुँदैन ।
दोस्रो कुरा, समाजले पनि त्यसरी आउने मान्छेहरू बिग्रिए है ! भत्किए है ! यिनीहरूलाई हामीले आलोचना गर्ने, मत हाल्ने बेलामा सच्याउने र अरू केके पर्छ, नैतिकताको बलमा जम्मै गर्ने भनेर गर्नुपर्छ । हाम्रो समाज पनि दोषी छ ।
मान्छे भनेको त वस्तु हो नि ! बूढो हुँदै जाँदा कोषहरू मर्दै जान्छन् । कान कम सुन्छ, छाला चाउरी पर्छ । आँखा कम देख्छ । हिजोको जस्तै दौडधुप गर्न सक्दैन । त्यसैले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेको ।
मेरै सहयोद्धा साथी भरमार पैसा कमाउँदै, धुलो उडाउँदै, आतंकित बनाउँदै हिँड्छ । उसले थामिनसक्नु माला लगाइरहेको हुन्छ । समाजले सच्याउनुपर्दैन यो विषयवस्तु ? समाजले पनि विषयवस्तु सच्याउनुपर्छ । समाजले भन्दा पहिला राजनीतिक पार्टीहरूले संस्थागत रूपमा यसलाई सच्याउनुपर्छ । विकल्पै छैन । हिजोकै शासकसँग आजका शासकहरूलाई तुलना गर्नेजस्तो नमीठो कुरा के हुन्छ ?
बालुवाटार जग्गा प्रकरण, वाइडबडी, सुनकाण्ड जस्ता थुप्रै विषयहरू अहिले जबर्जस्त उठेका छन् । तर प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाकै एक अध्यक्ष यी घटनासँग जोडिएका केही मानिसहरू निर्दोष छन् भन्दै हुनुहुन्छ । यो विषयमा तपाईंको धारणा के छ ?
कम्युनिष्ट पार्टी भनेको भ्रष्टाचारको विरुद्ध लड्ने पार्टी हो । हामी कति लडेका छौँ ? त्यो दोस्रो विश्लेषणको कुरा हो । सैद्धान्तिक हिसाबले र अन्तर्राष्ट्रिय प्रयोगका हिसाबले हेर्ने हो भने कम्युनिष्ट पार्टी भनेको भ्रष्टाचारका विरुद्ध लड्ने सबैभन्दा अग्रगामी राजनीतिक शक्ति हो । राज्यको सम्पत्ति वा सार्वजनिक सम्पत्तिलाई कसैले व्यक्तिगत बनायो भने त्यसका विरुद्ध सबैभन्दा अगाडि बसेर लड्ने कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट आन्दोलन हो । यो अन्तर्राष्ट्रिय हिसाबले स्थापित भएको विषयवस्तु हो ।
तपाईंले भनेका जस्ता केही प्रश्नहरु उठेका छन् । अन्तिम फैसला गर्न हामीसँग राज्यका विभिन्न निकायहरू छन् । राज्यका अरू निकायलाई काम गर्नका लागि पार्टीले सहयोग गरिदिनुपर्यो । त्यसो भयो भने हामीले निष्कर्ष दिन सक्छौँ । जनतामा आशा पलाउँछ । जनसमुदायमा आशाको दियो बल्छ र त्यसले आन्दोलन संगठित भएर जान्छ ।
हामीले कहीँनिर यसलाई मिलाउन सकिरहेका छैनौँ । गलत नगरेको भए पनि सार्वजनिक रूपमा प्रश्न उठिसकेपछि पार्टी आन्दोलनलाई बचाउनका लागि छानबिन हुन्जेल पार्टी जिम्मेवारीबाट हट्ने कुरालाई गम्भीरताका साथ सोच्नुपर्छ ।
अन्त्यमा, अहिलेकै मूल नेतृत्वबाट समृद्धिको यात्रा कति सम्भव देख्नुहुन्छ ? नेपालको कम्युनिष्ट आन्दोलनको अबको बाटो कस्तो देख्नुहुन्छ ?
नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले नेतृत्वमा रहेको (केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड)को पुस्ता तेस्रो पुस्ता हो । जब नेतृत्वको सीमा हुन्छ भन्ने संस्थागत अनुभूति गर्छौं, त्यसपछि त्यो सीमालाई भत्काएर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ । पहिलो र दोस्रो पुस्ताले त्यही गर्यो । अब तेस्रो पुस्ताले त्यस्तो गर्छ कि गर्दैन ? पहिला हामीले त्यहाँ हेर्नुपर्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई उहाँहरूले राजतन्त्रविरोधी आन्दोलनसम्म उठाउनुभयो र हामी गणतन्त्रसम्म आइपुगेका छौँ । अब उहाँहरूकै नेतृत्वमा समृद्धिको यात्रा धेरै अगाडि जाँदैन । मैले कोहीप्रति व्यक्तिगत टिप्पणी गरेको होइन । यो विज्ञान हो । तेस्रो पुस्ताका अब सीमाहरू अभिव्यक्त हुन थाले । जब मान्छेका सीमाहरू अभिव्यक्त हुन थाल्छन्, गति कम हुन्छ । परिणाम आउँदैन ।
मान्छे भनेको त वस्तु हो नि ! बूढो हुँदै जाँदा कोषहरू मर्दै जान्छन् । कान कम सुन्छ, छाला चाउरी पर्छ । आँखा कम देख्छ । हिजोको जस्तै दौडधुप गर्न सक्दैन । त्यसैले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेको । यो विज्ञान हो । तेस्रो पुस्ताको नेतृत्वले जे योगदान गर्यो, त्यसलाई संस्थागत गर्ने र सम्मान गर्दै बिदा गर्नुपर्छ भन्ने बहसमा हामी पुग्यौँ । त्यसो गर्यो भने नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य राम्रै देख्छु । होइन, अब बाँचुञ्जेल मलाई नै पद चाहिन्छ भन्न थाल्ने हो भने हामी बर्बाद हुन्छौँ ।
हेर्नुहोस् पूरा अन्तर्वार्ता भिडियोमा :
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६