कठमाडौं : बितेका पाँच वर्षमा १५ वटा एसिड आक्रमणका घटना भएका छन् । यसबाट १२ महिला तथा तीन पुरुष पीडित रहेको प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७१/०७२ मा चारवटा एसिड आक्रमणका घटना भएका छन्, जसमध्ये तीन जना महिला तथा एक जना पुरुषमाथि एसिड आक्रमणको घटना भएको तथ्यांकमा उल्लेख छ । उक्त आर्थिक वर्षको घटनामा चार जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा दुई जना महिलामाथि एसिड आक्रमणका घटना भएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा एक जना महिलामाथि एसिड प्रहार भएको छ । उक्त घटनामा चार जना पक्राउ परेको देखिन्छ ।
त्यस्तै, २०७४/०७५ मा चारवटा घटना भएका छन्, जसमध्ये दुई जना पुरुष तथा दुई जना महिला पीडित भएको देखिन्छ । उक्त घटनामा छ जना पक्राउ परेको प्रहरीको तथ्यांक छ ।
त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा चार जना महिलामाथि एसिड प्रहार भएको देखिन्छ । बुधबार मात्रै राजधानीको कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि उनका श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका थिए । भुजेललाई प्रहरीले बुधबार साँझ पक्राउ गरिसकेको छ ।
एसिड आक्रमणको तथ्यांकलाई हेर्दा पुरुष नै बढी यस्ता घटनामा संलग्न भएका देखिन्छ । पाँच वर्षको अवधिमा पक्राउ परेकामध्ये दुई जना महिला यस्ता घटनामा संलग्न देखिन्छन् ।
किन हुन्छन् यस्ता घटना ?
एसिड आक्रमणका घटना विभिन्न ठाउँमा फरक फरक कारणले भएको देखिन्छ ।
‘एसिड आक्रमणका घटना ठ्याक्कै यही कारणले हुन्छ भन्ने त छैन तर एसिड हानेर कसैको रूप बिगार्नुसँग यो जोडिन्छ’, प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल भन्छन्, ‘आफूले प्रेम गरेको कसैले अस्वीकार गरेको अवस्थामा बदलाको भावले रूप बिगार्नका लागि आक्रमण हुने गरेको देखिन्छ ।’
तराईमा भने जग्गा विवादमा पनि एसिड आक्रमण हुने गरेको उनले सुनाए । ‘खासगरी प्रेममा बाँधिएका जोडीहरूका बीचमा एकअर्काबाट बिछोड भएको अवस्थामा एकले अर्काको मुख हेर्न नचाहने हुन्छ’, उनले भने, ‘श्रीमानले श्रीमतीलाई धेरै प्रेम गर्यो तर श्रीमतीले श्रीमानको प्रेम अस्वीकार गर्दै अर्कोसँग सम्बन्ध राखेको अवस्थामा पनि एसिड आक्रमणका घटना हुने देखिन्छ ।’
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६