भोजपुर : भोजपुर सदरमुकाम नजिकैको पोखरेका एक व्यवसायीको घरबाट सुरु भएको आगो नियन्त्रणमा आएको छ ।
आगालागीबाट ५२ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ ।
किराना व्यवसायी गर्ने भोजपुर नगरपालिका वडा नम्बर ९ का बखतबहादुर श्रेष्ठको घरमा लागेको आगो केहीबेरअघि मात्र पूर्णरूपमा नियन्त्रणमा आएको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो पूर्णरूपमा निन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
नियन्त्रणभन्दा बाहिर जाने स्थिति हुँदाहुँदै पनि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको स्थानीय नवीन प्रधानले बताए । बरबोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा खटिएका थिए ।
सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल पुग्न नसक्दा बढी क्षति भएको हो । खानेपानीको लाइनबाट पानीले आगो निभाउने प्रयास भए पनि पानी पर्याप्त नहुँदा आगो पूर्णरूपमा नियन्त्रणमा लिन समस्या भएको थियो । घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा आगो झन् फैलिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट श्रेष्ठको घर र घरभित्र रहेका सामग्रीहरू नष्ट भएका छन् भने छिमेकका घरहरूको पनि क्षति हुन नदिन छानाहरू भत्काइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६