भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गतहप्ता चर्चाको शिखरमा रहे। १७औं लोकसभाको निर्वाचनको समापन नजिकिँदै गर्दा मोदी चर्चामा रहनु अस्वभाविक थिएन । तर उनी चर्चामा रहनुका कारण चुनावी प्रचारप्रसार र आगामी कार्यकालमा गरिने बाचा नभई उनले बोलेका हास्यासपद कुराहरू थिए । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकभरि उनले बोलेका कुराहरूमा ट्रोल भयो ।
११ मे, २०१९ मा न्युज नेसन लाई दिएको अन्तर्वातामा मोदीले असामान्य तर्क दिए, जसका कारण सोसल मिडियाको खेदो खनाइको शिकार भए । उक्त अन्तर्वार्तामा मोदीलाई बालाकोट हमलाको आदेश दिँदा दिमागमा के खेलिरहेको थियो भन्ने प्रश्न सोधियो । मोदीले भनेका थिए, त्यो रात एकदमै ठूलो पानी परिरहेको थियो । मध्यराततिर मेरो दिमागमा अचानक हमलाको कुरा आयो । विशेषज्ञहरू खराब मौसमका कारण हमला पछि सार्ने सल्लाह दिइरहेका थिए । तर मैले फरक तर्क राख्दै खराब मौसम हामीलाई उल्टो फाइदाजनक हुने बताएँ । त्यसो गर्दा बाक्लो बादलका कारण पाकिस्तानी रेडारबाट बच्न सकिन्थ्यो । र हमला सफल हुने सम्भावना अझै बढ्थ्यो। अन्तिममा मैले त्यसै गर्न आदेश दिएँ ।
हेर्नुस् भिडियाे :
यो अन्तर्वार्ता प्रसारण हुनासाथ सोसल मिडिया तात्यो । कति ट्वीट हास्यास्पद व्यंग्य थिए भने कुनै आक्रोशले भरिएका । कतिले देशको सुरक्षामा यस्तो भद्दा मजाक अस्वीकार्य रहेको समेत बताए । भारतीय जनता पार्टीको आधिकारिक ट्वीटर खाताले प्रधानमन्त्रीको उक्त भनाइ साभार गर्दै राख्यो जुन पछि हटाइयो।
ट्वीटर र फेसबुकभरि मोदीको उक्त अन्तर्वार्ताको भिडियो भाइरल भयो । कमेडियन कुनाल कमराले व्यंग्यात्मक ट्वीट गर्दै मोदी विभिन्न ठाउँ र अवस्थामा सल्लाह दिन गएको फोटो पोस्ट गरे।
पत्रकार अदित्य मेननले पनि हास्यासपद शैलीमा मोदीको खेदो खने।
भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीले त आलोचनाभन्दा अघि बढ्दै निर्वाचन आयोगमा गुनासो दर्ता गरे । उनले मोदीले चुनावी आचारसंहिता उल्लंघन गर्दै हवाई हमलाको कुरा उठाएको बताए ।
भाजपाका युनियन मन्त्री प्रकाश जभाडेकरले भने मोदीको पक्ष लिँदै ट्रोल माथि खनिए । उनले जसले जे भने पनि हवाइ हमला पूर्णतया सफल रहेको बताए।
उता कांग्रेसी प्रवक्ता समा मोहम्मदले मोदीको चर्को आलोचना गर्दै मोदीको अल्पज्ञान र मुर्ख निर्णयले भारतीय वायु सेवाका पाइलटहरूको ज्यान जोखिममा परेको बताइन् ।
मोदीको ट्रोल र आलोचना सेलाउन नपाँउदै उक्त भिडियोको अरु भाग फेरि सोसल मिडियामा छाउन थाल्यो । मोदी आफू प्रविधिको पुरानो फ्यान भएको र आफू ग्याजेट फ्रिक भएको बताए । उनका अनुसार गुजरातको मुख्य मन्त्री हुनुभन्दा धेरै पहिलेदेखि नै प्रविधितिर झुकाव भएको बताए । उनले स्क्रिनमा प्रयोग हुने टचपेन सन १९९० तिरदेखि नै प्रयोग गर्ने गरेको दाबी गरे । उनले थप्दै भने, अरुले के गर्थे थाहा भएन तर डिजिटल क्यामेरा मैले १९८७-१९८८ तिर नै प्रयोग गरेको थिए ।
उनका अनुसार उनले उक्त डिजिटल क्यामेराबाट लालकृष्ण अड्वानीको फोटो खिचेको र उक्त फोटो इमेलबाट दिल्ली पठाएको ठोकुवा गरे । अर्को दिन लालकृष्ण आडवाणीले आफ्नो फोटोको रंगीन प्रति देखेपछि तिनछक परेको मोदीले भने । यही कुरालाई लिएर मोदीको ट्रोल फेरि सुरु भयो । भारतमा डिजिटल क्यामेरा १९८९-१९९० तिर मात्र आएको थियो । त्यस्तै भारतमा इन्टरनेट १९९५ पछि मात्र आएको जिकिर ट्विटरमा भयो ।
भारतीय कांग्रेस पार्टीका राजीव सतवले सामाजिक सञ्जाल ट्वीटर प्रयोग गर्दै मोदीले आफ्नो खराब कार्यकालजस्तै इतिहासको खराब अनुसन्धान गरेको र आफ्नो दावीबाट जनतालाई झुक्याउन खोजेको आरोप लगाए।
त्यस्तै भारतीय कम्युनिस्ट पार्टीका सदस्य मोहम्मद सलिमले ट्वीट गर्दै मोदीलाई व्यंग्य गरे।
त्यस्तै स्विडेनको एक विश्वविद्यालयका प्रोफेसर अशोक स्वेनले स्विडेनमा समेत इमेल १९९५ तिर मात्रै भित्रिएको बताए।
अन्तिम चरणको चुनाव नजिकिँदै गर्दा सोसल मिडिया मोदीमय भए पनि यसले मोदीको छवि सुधार्ने संकेत देखिँदैन ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६