‘म पनि विवाहित थिएँ । उनी पनि विवाहित हुन् । फेसबुकमार्फत् हाम्रो सम्बन्ध नजिक भयो । बेलाबखत भेटघाट गर्ने लगायतका काम हुन थाले । उनी र मेरो सम्बन्ध नजिकिँदै जाँदा सहमतिमै शारीरिक सम्बन्ध पनि रहँदै आएको थियो । सहमतिमै हामीले फोटो पनि खिच्यौं । हामी भेट्न नसक्दा पनि अश्लील फोटो आदानप्रदान हुने गथ्र्याे । मेरी श्रीमती र उनका श्रीमान्लाई हामीबीचको सम्बन्ध थाहा भएपछि हाम्रो झगडा सुरु भएको हो ।’
काठमाडौं प्रहरी परिसरमा परेको एउटा उजुरीपछि पक्राउ परेका प्रतिवादी युवकले दिएको बयानको व्यहोरा हो यो ।
त्यसपछि उनीहरूको सम्बन्ध बिग्रिँदै जान्छ । सम्बन्ध बिगार्ने नियतले फेसबुक र म्यासेन्जरमा फोटो हाल्छु भनेर युवकले धम्की दिने र वास्तविकता अरूले थाहा नपाउनका लागि हरेक प्रयास गर्दै जाँदा मोबाइलबाट फोटो हटाउन पैसाको चलखेलसम्म भयो । तर धम्की, बदनाम, बेइज्जती नरोकिएपछि अन्त्यमा महिलाले प्रहरीमा उजुरी दिन्छिन् ।
...
एक महिला र पुरुषबीच विवाह भएको केही समयमा असमझदारीका कारण सम्बन्धविच्छेद हुन्छ । उनीहरुकाे सम्बन्ध सकिए पनि फेसबुकमा साथी नै हुन्छन् । पहिले विहे गरेर बस्दा पनि विभिन्न कारण मानिसक तथा शारीरिक यातना पाएपछि श्रीमतीले सम्बन्धबिच्छेदकाे मुद्दा दायर गरेर सम्बन्धविच्छेद हुन्छ । सम्बन्धबिच्छेद भइसकेपछि पनि फेसबुकमार्फत् बेइज्जत गर्ने, मानसिक यातना दिने गरेपछि पूर्वपतिविरुद्ध महिलाले प्रहरीसमक्ष साइबर क्राइमसम्न्धी मुद्दा दर्ता गराइन् । आफू स्वतन्त्र भइसके पनि विभिन्न अश्लिल म्यासेज पठाउने र चरित्रहत्या गर्ने स्टाटस ट्याग गरेकाे हुँदा प्रहरी समक्ष उजुरी दिएकी हुन् ।
...
यी माथिका दुई घटना प्रविधिको दुरुपयोगले निम्त्याएका प्रतिनिधि घटना मात्रै हुन् । यस्ता प्रकृतिका घटनाको उजुरीले भरिएको छ काठमाडौं प्रहरी परिसर अपराध अनुसन्धान महाशाखा ।
नेपालमा मोबाइल फोनको सुरुआत भएको दुई दशक हुँदै छ । अझ नेपालमा एन्ड्रोइड मोबाइलको प्रयोग भएको धेरै भएकै छैन भने सबै सर्वसाधारणको पहुँचमा अझै पुग्न सकेको छैन । एन्ड्रोइड फोनमा भएका सुविधाको दुरुपयोगले पछिल्लो समय आपराधिक घटना दिनानुदिन बढ्दै गइरहेका छन् ।
दुई वर्षअघिको तुलनामा चालु आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग तीन गुणा बढिसकेको छ । यस्तै फेसबुकको सुरुआत भएको एक दशक मात्र नाघेकोे छ । तर यिनै फेसबुक र मोबाइल फोनसँग सम्बन्धित उजुरी प्रहरीसमक्ष धेरै दर्ता हुने गरेका छन् ।
काठमाडौं प्रहरी परिसर अपराध अनुसन्धान महाशाखामा दर्ता भएका उजुरीको प्रकृति हेर्दा सम्बन्धमा हुँदा सहमतिमा खिचिएका फोटो, भिडियो र फेसबुक च्याट सम्बन्ध टुटेपछि घाँडो हुने गरेको देखिन्छ । यसले ब्ल्याकमेलिङ, धम्की, हत्या र आत्महत्यासम्मको दुर्घटनाको जोखिम बढाएको स्वयं प्रहरी बताउँछ ।
केटाकेटीबीच माया पिरती बसेपछि म्यासेन्जरबाट कुरा हुने तथा प्रेमिल क्रियाकलाप मोबाइलमा कैद गरिएको हुन्छ । केटा र केटीबीच राम्रो सम्बन्ध हुँदासम्म गोप्य राखिने भिडियो र फोटो जब सम्बन्ध बिग्रिन्छ, तब सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्ने तथा राख्ने धम्की दिने गरेका घटना अपराध अनुसन्धान महाशाखामा दर्ता हुने गरेको प्रहरीको तथ्यांकमा छ ।
प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार सबैभन्दा बढी मुद्दा सम्बन्ध राम्रो हुँदा फोटो खिच्ने, अश्लील फोटो आदानप्रदान गर्ने लागयतका कार्य गर्न हिच्किचाउँदैनन् । जब सम्बन्ध बिग्रिन्छ त्यसपछि त्यही फोटो र भिडियो उनीहरूको हतियार बनिदिन्छ ।
यस्ता क्रियाकलापबाट ज्यान मार्ने धम्की, चरित्र हत्या, पैसा असूली जस्ता घटनाका उजुरीहरू दर्ता भएको प्रहरीले जानकारी दियो । प्रहरीका अनुसार बोलचाल हुँदै गएपछि विश्वास हुने, विश्वासका आधारमा अश्लील फोटो खिच्ने, श्लील फोटोमा अश्लील जोड्ने, सिन्दुर जोड्नेलगायतका दुरुपयोग गरेका समेत मुद्दा दर्ता भएका छन् ।
यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) र सोही ऐनको दफा ५८ (क) र दफा ७६ अनुसार अधिकतम पाँच वर्ष जेल र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । काठमाडौं प्रहरी परिसरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ३४ वटा मुद्दा दर्ता भए । त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मा २५ वटा दर्ता भए । आर्थिक वर्ष २०७४/०७५ मा बढेर उक्त मुद्दाको संख्या ८१ पुगेको छ भने चालु आर्थिक वर्षको फागुनसम्म मात्र ८९ वटा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६