भोजपुर : पछिल्लो समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियान भोजपुरमा पनि सञ्चालित छ ।
सदरमुकाम मात्र होइन, अहिले कांग्रेसका नेता कार्यकर्ता जागरण अभियान लिएर गाउँगाउँ पुगेका छन् । नेता भन्छन्, ‘हामी भोजपुरका नौ स्थानीय तहका ८१ वटै वडामा अभियान पुर्याउँछौँ ।’ नेपाली कांग्रेसले भोजपुरमा एक महिने जागरण अभियान सुरु गरेको हो ।
नेपाली कांग्रेस भोजपुरका पार्टी सभापति नन्दमणि राई वर्तमान सरकारले दुई तिहाइको दम्भमा जनताको पक्षमा काम नगरी अधिनायकवाद लाद्न थालेकाले जनतामाझ जानुपरेको बताउँछन् । उनले भने, ‘हामी सत्ता लडाउने खेलमा लागेका होइनौँ, तर सरकार सबै जनताले अनुभूत गर्ने हुनुपर्यो ।’
अभियान अन्तर्गत साल्पासिलिछो गाउँपालिकामा वीरबल राई, अरुण गाउँपालिकामा हेमन्त मुकारुङ्ग, पौवादुम्मा गाउँपालिकामा बालकृष्ण राई, हतुवागढी गाउँपालिकामा उत्तम चापागाई, आमचोक गाउँपालिकामा बालकृष्ण थापा, रामप्रसादराई गाउँपालिकामा गोविन्द कार्की, टेम्केमैयुङ गाउँपालिकामा विनोद बान्तवा, भोजपुर नगरपालिकामा कैलाशकुमार आले र षडानन्द नगरपालिकामा रेनुकुमारी राईलाई संयोजक तोकिएको छ ।
नेपाली कांग्रेस भोजपुरका सचिव कैलाशकुमार आलेका अनुसार अभियानमा खटाइएका संयोजकहरूको नेतृत्वमा गाउँ तहमा कार्यकर्ता तथा जनतामाझ गएर लोकतन्त्रको रक्षाका लागि जनतालाई खबरदारी गरिने छ ।
नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष तथा अभियानका हतुवागढी गाउँपालिका संयोजक उत्तम चापागाईले खानेपानी, बिजुली जस्ता आधारभूत आवश्यकता पुरा गर्न नसकेको सरकारले पानीजहाज र हावाबाट बिजुलीजस्ता कुरा निकालेर अल्मल्याउने काम गरेको टिप्पणी गरे । ‘सपनाको कुरा गरेर मात्र भएन, जनताले नतिजा खोजेका छन्,’ चापागाईले भने ।
नेपाली कांग्रेस पनि समृद्धिकै पक्षमा रहेको भन्दै नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष तथा महासमिति सदस्य विनोद बान्तवाले रचनात्मक प्रतिपक्षको भूमिकासहित सरकारले गरेको राम्रो कामको स्वागत र सहयोग गर्दै गलत कामप्रति खबरदारी गर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६