विराटनगर : भारतीय नागरिकले दोहोरो नागरिकता लिने गरेको घटना सार्वजनिक भइरहेको बेला मोरङमा समेत नेपालको नागरिकता लिने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ३६ वर्षीय विमलेश साहलाई नेपालको नागरिकता र भारतको आधार कार्ड लिएको फेला पारेको हो । उनले नेपालको नागरिकता हालै नभएर पहिले नै लिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति विराटनगरको खार्जी चोकमा जाँच गर्ने क्रममा साहले नेपाली नागरिकता लिएको खुलेको हो । खार्जीको ढाटमा चेक प्वाइन्ट राखेर मानिस तथा सवारी साधन जाँच गर्ने क्रममा उनको साथबाट नेपालको सवारी चालक अनुमति पत्र र भारतको आधार कार्ड फेला परेको थियो ।
प्रहरीले साहले प्रयोग गरेको को २६ प ३१६७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा पर्समा ०२–५०४१९९ नम्बरको निजकै नाम उल्लेख भएको नेपाली सवारी चालक अनुमति पत्र भेटिएको थियो ।
नेपाली नागरिक भएपछि मात्र सर्वसाधारणले नेपालको सवारी चालक अनुमति पत्र पाउने गरेका छन् । सोही पर्समा २४१६५७५०१५०५ नम्बर उल्लेख भएको साहकै नामको भारतीय आधार कार्ड समेत फेला परेपछि उनले नेपालको नागरिकता लिएको रहस्य खुलेको थियो ।
मोरङका प्रहरी प्रवक्ता तथा डिएसपी घनश्याम श्रेष्ठका अनुसार साहले नेपालमा र भारतमा समेत दोहोरो नागरिकता बनाएको हुन सक्ने अवस्थालाई मध्यनजर गरेर तत्काल पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका साहलाई दोहोरो नागरिकता किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६