काठमाडौं : सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै सरोेकारवालाहरुले आक्रोस व्यक्त गरेका छन् । बुधबार नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालय थापागाउँमा आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष, बहालवाला पदाधिकारी र प्रेस युनियन,प्रेस काउन्सिलका पूर्वअध्यक्षहरुले सो विधेयकको चर्को विरोध गरेका हुन् ।
पत्रकार महासंघका महासचिव रमेश विष्टले मिडिया काउन्सिल विधेयक संविधानको प्रस्तावनामाथीकै आक्रमण भएको बताए । ‘सरकारको हिजोसम्मको प्रतिक्रिया हेर्दा पत्रकारहरुले योे प्रायोजित आन्दोलन,केही व्यक्तिका लहडमा कसैको पछि लागेर गरिएको आन्दोलन भन्ने प्रतिक्रिया छ ,’ महासचिव विष्टले भने, ‘ यस्तै प्रतिक्रिया, यस्तै आरोप , आठौं दलको आरोप हामीले शाहीकालमा पनि खेपेका थियौं । यस्तै खालदका भाषाहरु श्रीशम्शेर र टंक ढकालले पनि प्रयोग गरेका थिए । त्यसकारण अहिलेका सञ्चारमन्त्री झुट बोल्दै हुनुहुन्छ,अफवाह फैलाउँदै हुनुहुन्छ ।’ राणा र ढकाल तत्कालीन राजा ज्ञानेन्द्रको सरकारका संचारमन्त्री थिए । मिडिया काउन्सिल विधेयक शाही आयोगकै अर्को रुप भएको पनि उनको भनाई थियो ।
पत्रकार महासंघका पुर्व अध्यक्ष सुरेश आचार्यले कम्युनिष्ट बाहुल्य रहेको संसदले अहिलेको विधेयक अगाडी नबढाउला भनेर भन्ने अवस्था नरहेको बताए । सरकार यसबाट सहजै पछि हट्न भनेर सोच्नु गलत हुने बताउँदै उनले आन्दोलनलाई बलियो बनाउने र जनमत सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । सैद्धान्तिक रुपमा अहिले ल्याइएको विधेयक गलत भएको उनको भनाई थियो । महासंघकै अर्का अध्यक्ष हरिहरि विरहीले सरकारको प्रेसमाथी नियन्त्रण गर्ने प्रयास असफल हुने दाबी गरे । उनले अहिले भइरहेको प्रेसको आन्दोलनमा नागरिकमा समेत साथ दिनुपर्ने बताए ।
त्यस्तै, प्रेस युनियनका पुर्वअध्यक्ष रमेश तुफान, कुलचन्द्र वाग्ले, समिरजंग शाह , वर्तमान अध्यक्ष बद्री सिग्देल, अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका समाजका नेपाल च्याप्टर अध्यक्ष कविर राणाले पनि मिडिया काउन्सिल विधेयकमा सरकारको अधिनायकवादी महतवकांक्षा व्यक्त भएको भन्दै यसकाविरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६