पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढेको बढ्यै छ । यो क्रम पछिल्लो शताब्दीमा झन् तीव्र रूपमा देखिएको छ ।
संयुक्त राज्य अमेरिकाका वैज्ञानिकहरूले हालसालै गरेको अनुसन्धानले पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा सबैभन्दा उच्च पुगेको डरलाग्दो तथ्य बाहिर ल्याएको छ ।
अमेरिकाको हवाईस्थित मौना लोवा अवलोकन केन्द्रले गरेको एउटा परीक्षणमा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ४१५.२६ पी.पी.एम देखिएको छ । सन् १९५२ देखि लगातार वायुमण्डल परीक्षण गरिरहेको अवलोकन केन्द्रले गत शनिबार उक्त तथ्य फेला पारेको हो ।
वायुमण्डलमा यति धेरै कार्बनडाइअक्साइडको मात्रा पृथ्वीमा करिब तीन करोड वर्षअघि मात्र थियो । त्यतिबेला समुद्रको सतह अहिलेभन्दा धेरै माथि थियो। अन्टार्कटिकादेखि एसियासम्म बाक्लो जंगलको प्रतिशत धेरै थियो तर दुई लाख वर्षअघि मानवको उत्पत्ति भएदेखि वायुमण्डलमा यति धेरै कार्बनडाइअक्साइड कहिल्यै देखिएको थिएन ।
मानव प्रजातिका लागि यति कार्बनडाइअक्साइड सर्वाधिक हो । कार्बनडाइअक्साइडले ४०० पी.पी.एम पार गरेको केही वर्षअघि मात्र हो । सन् २०१६ मा पहिलो पटक ४०० पी.पी.एम पार गरेको कार्बनडाइअक्साइडलाई ४१५ पी.पी.एम पुग्न तीन वर्ष मात्र लाग्यो ।
कार्बनडाइअक्साइडको मात्रा यति धेरै बढ्नुको मुख्य कारक मानवीय क्रियाकलाप नै भएको विज्ञहरूको भनाइ छ । जैविक इन्धनको अत्यधिक खपत यसमा जिम्मेवार छ । पेट्रोलियम, कोयला, प्राकृतिक ग्यासहरू, मट्टीतेल, प्रोपेन जस्ता कार्बन धनी पदार्थहरूको खपतले वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढाएको विज्ञहरूको मत छ ।
कार्बनडाइअक्साइड बढे के हुन्छ ?
वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा यसैगरी बढ्दै जाने हो भने पृथ्वीको तापक्रम हरेक वर्ष बढ्नेछ । वायुमण्डलमा उक्त ग्यास बढ्दा सूर्यबाट आएको ताप परावर्तन भएर फिर्ता जान सक्दैन र पृथ्वीमै रहिरहन्छ । फलस्वरूप पृथ्वीको तापक्रम बढ्छ । कार्बनडाइअक्साइड मुख्य हरितगृह ग्यास हो । हरितगृह ग्यासहरूले सूर्यको तापक्रमलाई पृथ्वीमै कैद गर्छन् । त्यसैले हरिगृतह ग्यासहरूको उत्पादनमा कमी ल्याउन संसारभर प्रयासहरू भएका छन् तर परिणाम उत्साहजनक छैन ।
सन् २०१५ को पेरिस सम्झौताले तापक्रम औसत वृद्धि २ डिग्री तल राख्न निर्देशन दिए तापनि पछिल्ला ३-४ वर्ष सबैभन्दा ताता वर्षहरू थिए । बढिरहेको जनसंख्या र जैविक इन्धनको मुख्य विकल्पको अभावमा यो प्रण कायम हुन सकेको छैन।
जानकारहरूका अनुसार वायुमण्डलमा यति धेरै कार्बनडाइअक्साइड ट्रायसिक पिरियडमा थियो । उक्त समयमा अहिले जस्तो अन्टार्कटिका भूभाग हिँउले भरिएको थिएन । कार्बनडाइअक्साइडको मात्रा धेरै भएकाले तापक्रम अहिलेभन्दा पनि बढी थियो । त्यस कारण अन्टार्कटिकामा हिउँ जमेर बस्न पाएन र बाक्लो जंगल फैलियो । अब पनि कार्बन नियन्त्रण गरिएन भने पृथ्वी ट्रायसिक समयमा फर्कन सक्ने डरलाग्दो तथ्यलाई नकार्न नसकिने वैज्ञानिकहरूको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६