विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङको एक फौजदारी मुद्दाको अभिलेखमा अभियुक्तकाे नाम छ- दिनेशप्रसाद पण्डित अर्थात् श्रीनिवासाचार्य । उनकाे स्थायी घर हो, बारा जिल्लाको सिमरा जीतपुर वडा नम्बर- ३ । उनीविरुद्धको अभियोग छ- ज्यान मार्ने उद्योग र अवैध हातहतियार र खरखजना ।
प्रहरीको पछिल्लो अभिलेखमा उनी जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासबाट ज्यान मार्ने उद्योगमा २०७५ जेठ १६ गते पुर्पक्षका लागि विराटनगर कारागार चलान भएका देखिन्छ ।
त्यसपछिको प्रहरीको अभिलेखमा उनको पछिल्लो अवस्थाबारे कुनै रेकर्ड छैन । तर मोरङ प्रहरी भन्छ- अवैध हतियारको मुद्दा टुंगिएको छैन । उनै दिनेशप्रसाद पण्डित अहिले स्वतन्त्र रूपमा हिन्दु राज्यको पक्षमा खुलेर लागेका छन् । फौजदारी अभियुक्त दिनेशप्रसाद पण्डित उर्फ युवा सन्त श्रीनिवासचार्यले एक मुद्दामा सफाइ पाए पनि उनीविरुद्धको अर्को मुद्दा कायमै छ ।
उनीविरुद्धको फौजदारी मुद्दाको अन्तिम फैसला हुन बाँकी रहँदा केही दिनअघि काठमाडौंको रिपोर्टर्स क्लबमा भन्दै थिए, ‘हाम्रो धर्मिक सभा अहिंसात्मक र शान्तिवादी रहनेछ ।’ विराटनगरको जतुवास्थित रामजनकी मन्दिरमा धार्मिक प्रवचन गर्न पुगेका श्रीनिवासचार्यमाथि २०७४ चैत २५ गते राती २ बजे छातीको दाहिने भागमा बन्दुकको गोली बर्सियो । घाइते अवस्थामा भएका उनलाई तत्काल उपचारका लागि न्यूरो अस्पताल लगियो ।
त्यसबेला प्रहरी रेर्कडमा २५ वर्षका रहेका श्रीनिवासाचार्यले पूर्व क्षेत्रमा निकै ख्याति कमाएका थिए । उनको स्वास्थ्य अवस्था बुझ्न जिल्लाका नेता मात्र होइन, त्यो बेलाका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि अस्पताल पुगे । ठाउँठाउँमा हिन्दु धर्ममाथिको आक्रमण भन्दै जुलुस निस्कियो । केही संस्थाले आन्दोलनको चेतावनी दिँदै विज्ञप्तिसमेत निकाले । पूर्वयुवराज पारस शाह र अभिनेत्री मनीषा कोइराला पनि उनलाई भेट्न अस्पताल नै पुगेका थिए ।
घटनाले प्रहरीलाई समेत चुनौती दियो । घटना भएको केही दिनपछि मोरङ प्रहरीले भटाभट उनकै सहयोगीहरूलाई पक्राउ गर्न थाल्यो ।
विभिन्न समय र स्थानबाट प्रहरीले श्रीनिवासाचार्यका सहयोगीहरू नवलपरासी गैँडाकोट घर भएका खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारी, चितवन भरतपुर घर भएका काले रोशन भनिने माधव चौधरी, सुनसरी धरान घर भएका माता पद्मश्री भनिने सनम ढुङ्गाना र सिन्धुपाल्चोक घर भएका चिरणप्रताप थापालाई पक्राउ गर्यो ।
पक्राउ परेकाहरूकै बयानका आधारमा शौचालयमा पिसाब फेर्न जाने क्रममा गोली लागेर घाइते भएका श्रीनिवासचार्यलाई पनि प्रहरीले काठमाडौँबाट पक्राउ गर्यो । प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिँदै पत्रकार सम्मेलनमा तत्कालीन मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले भनेका थिए, ‘पक्राउ परेका अभियुक्तको बयानको आधारमा उनलाई पक्राउ गरिएको हो ।’
सो क्रममा प्रहरीले धार्मिक रूपमा आफूलाई स्थापित गर्न श्रीनिवासले आफैँले आफैँलाई गोली हान्न लगाएको दाबी गरेको थियो । घटनापछि प्रहरीले उनी भारततर्फ भाग्न खोज्ने क्रममा पक्राउ गरिएको दाबी गरेको थियो ।
सोही आधारमा प्रहरीले पाँचै जनालाई जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग र जिल्ला प्रशासन कार्यालय मोरङमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दायर गरेको थियो । २०७५ जेठ १६ गते अदालतले श्रीनिवासाचार्यलगायत अन्य अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । २१ दिन कारागारको बसाइपश्चात् जिल्ला अदालतले निर्दोष सावित गरेको थियो । उनी सो मुद्दामा कारागारमुक्त भए पनि उनीविरुद्धको अवैध हतिहारको मुद्दाको फैसला हुन अझै बाँकी छ ।
प्रहरीको अभिलेखमा श्रीनिवासाचार्यका सहयोगी माधव चौधरी लागुऔषधको मुद्दामा सजाय काटिसकेका व्यक्ति हुन् । प्रहरीको बयानमा चौधरीले छ वर्ष कारागारको सजाय काटेको कुरासमेत स्वीकार गरेका छन् । श्रीनिवासाचार्यकै आग्रहमा हतियारको व्यवस्थापनको जिम्मा लिएका लक्ष्मीराज अधिकारीले विभिन्न समयमा माधव चौधरीलाई हतियार चलाउन उक्साएको आरोप छ । चौधरी आचार्यकै अंगरक्षकको रूपमा काम गर्दै आएका थिए । अधिकारीले प्रहरी समक्ष सो हतियार आफूसँग नै रहेको बयान दिएका थिए । प्रहरीले अभियुक्तबाट हतियारसमेत बरामद गर्यो ।
हिन्दु राज्यको स्थापना तथा धर्म बचाउन केही गर्नुपर्छ भन्ने पटक पटकको आग्रहपश्चात् चौधरीले आचार्यमाथि हतियार बर्साएको प्रहरी समक्ष दिएको बयानमा उल्लेख छ । आचार्य स्वयंले समेत राष्ट्रवाद र हिन्दु धर्मका लागि अब आफैँलाई गोली हानेर धार्मिक सद्भाव बिथोल्ने आशयको बयान दिएको प्रहरीको रेकर्डमा छ । सोहीअनुसारको दाबी गर्दै अदालतमा मुद्दासमेत दर्ता भएको थियो तर अदालतले वादीको दाबीलाई गलत सावित गरिदिएको थियो तर अवैध हतियार तथा खरखजाना मुद्दाको फैसला हुन बाँकी छ ।
पछिल्लो समय पुन: तिनै युवा सन्त श्रीनिवासाचार्य आक्रामक ढंगबाट सल्बलाएका छन् । सनातन युवा मञ्च नेपालको आयोजनामा जेठ ६ गते सुनसरीको इटहरीमा दिव्य धर्मसभा गर्ने भन्दै उनको अभियान सुरु भएको छ । केही दिनअघि मात्र काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आचार्यलगायतका सहयोगीले धर्मनिरपेक्षताको नाममा क्रिश्चियानिटीलाई प्रोत्साहन गर्ने भइरहेको भन्दै आपत्ति जनाए ।
पत्रकार सम्मेलनमा श्रीनिवासाचार्यले राजनीतिक अवस्था गलत दिशातर्फ गएको आरोप लगाए । उनले भने, ‘अखण्ड मुलुकलाई खण्डखण्ड गर्ने तथा हिन्दु धर्म र संस्कृतिलाई मास्ने कामहरू पछिल्लो समय भइरहेका छन् ।’
कार्यक्रममा बौद्ध धर्मगुरु खिलबहादुर थिङ, सनातन धर्म शिरोमणि स्वामी राम बाबा, बैंकटेश्वर मन्दिर (तिरुपति)का पिठाधिश्वर स्वामी श्री पद्मधराचार्य र विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीलगायतले बोलेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६