भोजपुर : किताबमा लेखिएको कुरा मात्रै पढाउँदै आएका शिक्षकलाई अब स्थानीय सरकारले प्रविधि सिकाउन थालेका छन् ।
कक्षामा गएर विद्यार्थी पढाउने मात्रै गरेका शिक्षकलाई भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्रविधिमैत्री बनाउने भन्दै कम्प्युटरको आधारभूत ज्ञान दिन थालेको हो ।
हाल सूचना प्रविधिको युग भएकाले किताबी ज्ञानका साथै प्रविधिमा पनि शिक्षक पोख्त हुनुपर्ने भएकाले कम्प्युटर सिकाउन थालेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपक खड्काले बताए ।
टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ देखि ५ सम्मका माध्यमिक तथा आधारभूत विद्यालयमा कार्यरत १६ शिक्षक शिक्षिकालाई गाउँपालिकाले एक हप्ताको आधारभूत कम्प्युटर तालिम प्रदान गरेको हो । शिक्षक शिक्षिकालाई कम्प्युटरसँगै सूचना प्रविधि सचेतना तालिम समेत दिइएको छ ।
आधुनिक युगमा शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नपुग्ने ठहर गर्दै गाउँपालिकाले तालिमको आयोजना गरेको हो । तालिमले शिक्षण सिकाइ क्रियाकलापलाई सूचना र प्रविधिसँग जोड्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ध्रुुवराज राई बताउँछन् ।
राई भन्छन्, ‘अबको युगमा विषयवस्तुको ज्ञान भएर मात्र हुँदैन, प्रविधि पनि जान्न जरुरी छ, आफ्नो गाउँपालिकाको शैक्षिक सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन हुने छन् ।’
गाउँपालिकाले आफूहरूलाई किताबी ज्ञानबाट बाहिर ल्याउँदै प्रविधिमैत्री बनाउन तालिम दिएकामा शिक्षक शिक्षिकासमेत खुसी छन् । शिक्षिका निता रुङमाङ गाउँपालिकाले शिक्षक शिक्षिकाका लागि कम्प्युटर तालिम दिनु राम्रो कुरा भएकाले आवश्यकता पहिचान गरी आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउँछिन् ।
गाउँपालिका अध्यक्ष राई भन्छन्, ‘गाउँपालिकाको शिक्षाको गुणस्तर उकास्न हामी लागिपरेका छौ, गाउँसभाले कर्मचारी, जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नदिने निर्णय गरेको छ, त्यो कार्यान्वयन पनि भइरहेको छ । आगामी दिन पक्कै पनि सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुन्छ ।’
जिल्लाका स्थानीय तहमध्ये टेम्केमैयुङ गाउँपालिकाले सुरु गरेको अभियानलाई अन्य गाउँपालिका र नगरपालिकाले पनि पछ्याउनुपर्ने शिक्षकहरू बताउँछन् ।
भोजपुरका अन्य स्थानीय तहले पनि शैक्षिक सुधारका लागि काम गरिरहेकै छन् । भोजपुर नगरपालिकाका १२ वडामा रहेका सामुदायिक विद्यालयमा ईहाजिरी अभियान सुरु गरिएको छ । पहिलो चरणमा मावि चलेका विद्यालयमा अनिवार्य ईहाजिरी जडान हुने छ । हाल भोजपुर नगरपालिका भित्र आठ वटा मावि, नौ आधारभूत र २७ प्राथमिक विद्यालय गरी जम्मा ४४ सामुदायिक र १० वटा संस्थागत विद्यालय छन् ।
भोजपुर नगरपालिकाका मेयर तथा नगर शिक्षा समितिका संयोजक कैलाशकुमार आले शिक्षकले पहिलेको जस्तो रजिस्टरमा हाजिरी गर्नु नपरोस् भनेर विद्यालयमा ईहाजिरी जडान अभियान सुरु गरेको बताउँछन् । मेयर आले भन्छन्, ‘शिक्षकलाई पनि नयाँ प्रविधि सिक्ने इच्छा होला, अन्य कार्यालयमा जस्तै ईहाजिरी मेसिनमा हाजिर गर्ने इच्छा होला, उनीहरूको इच्छा नगरपालिकाले पूरा गर्छ ।’
यता सदरमुकाम पूर्वमा रहेको पौवादुम्मा गाउँपालिकाले पनि विद्यालयहरूमा ईहाजिरी वितरण गरिसकेको छ । गाउँपालिका अध्यक्ष किरण राई गाउँपालिकाबाट विद्यालयहरूलाई ईहाजिरी, कम्प्युटर, सोलार सेट वितरण गरिसकिएकाले अब जडान अभियानलाई पनि तीव्र बनाइने बताउँछन् ।
पौवादुम्मा गाउँपालिकाकाले त्यस क्षेत्रका २८ विद्यालयलाई कम्प्युटर, इन्भर्टर सहितको सोलार सेट र ईहाजिरी वितरण गरिसकेको छ । गाउँपालिकाले बिजुली नपुगेका ११ विद्यालयलाई इन्भर्टरसहित एक सय वाटको सोलारका साथै एक÷एक थान कम्प्युटर र ईहाजिरी दिइसकेको छ ।
जिल्लाको उत्तरी गाउँपालिका साल्पासिलिछोका बिद्यालयमा पनि क्रमिकरुपमा ईहाजिरी जडान हुन थालेको छ । गाउँपालिकाको कुलुङमा रहेको वीरेन्द्र माविमा भने ईहािजरी जडान गरिसकिएको छ । गाउँपालिका अध्यक्ष महेश राई आफ्नो क्षेत्रका विद्यालयको शैक्षिक सुधारमा गाउँपालिका लागिरहेको बताउँछन् ।
अन्य स्थानीय तहले पनि शैक्षिक सुधारका लागि विभिन्न क्रियाकलाप गरिरहेको जनाएका छन् । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६