काठमाडाैं : बैंकिङ कसुरसम्बन्धी मुद्दाको चाप थेग्न नसकेपछि काठमाडौं प्रहरी परिसरले आजदेखि छुट्टै डेस्क खडा गरेको छ ।
काठमाडौं प्रहरी परिसरमा दैनिक बैंकिङ कसुरसम्बन्धी मुद्दाको चाप बढ्नुका साथै जनशक्ति अपुग भएपछि बुधबारदेखि डेस्क खडा गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।
काठमाडौं प्रहरी परिसरको तथ्यांकअनुसार दिनहुँ कार्यालयमा दर्ता भएका मुद्दामध्ये दस भागको सात भाग चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता हुँदा जनशक्ति अभाव भइरहेकाले मुद्दा किनारा लगाउन छुट्टै डेस्क खडा गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख सुवेदीका अनुसार उक्त डेस्कको जिम्मेवारी प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतेलाई दिइएको छ । पछिल्लो समय प्रहरी परिसरका प्रहरीलाई चेक बाउन्सको मुद्दा हेर्ने भ्याइनभ्याई छ । चेक बाउन्ससम्बन्धी मुद्दा प्राथमिकताका साथ हेर्न सोर्सफोर्स लगाउनुपर्ने अवस्था छ ।
अहिले प्रहरी परिसरमा चेक बाउन्सका मुद्दाले भरिभराउ छ भने जघन्य अपराधसम्बन्धी मुद्दाको अनुसन्धान गर्ने अपराध अनुसन्धान महाशाखाका प्रहरीसमेत चेक बाउन्सको मुद्दामा व्यस्त भइरहेकाले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा छुट्टै डेस्क खडा गरिएको हो ।
मुद्दाको चाप अनुसार जनशक्ति अभाव नै छ तर व्यवस्थापन सहज हुनका साथै समयमा मुद्दा किनारा लगाउन छुट्टै डेस्क खडा गरिएको प्रहरीले जनाएको छ । अहिलेको चाप अनुसार पीडितहरूको मुद्दा समयमा समाधान हुनका लागि ५० जनशक्ति आवश्यक भए पनि भएको भइरहेकै जनशक्ति व्यवस्थापन गरेर काम गर्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६