काठमाडौं : नेपालमा एउटा अपराध छोप्न अर्काे अपराधको बाटो अपनाउने क्रम बढेको छ । आफूले गरेको अपराध छोप्ने सबैभन्दा सजिलो माध्यम बैंकिङ कसुर बन्दै गएको प्रहरीले जनाएको छ ।
कुनै युवालाई विदेश पठाइदिन्छु भन्दै एक व्यक्तिले रकम लिएर फरार हुन्छन् । विदेश जानका लागि रकम दिएको युवा आफू ठगीमा परेको भन्दै प्रहरी समक्ष उजुरी दिन्छन् । पटकपटकको ताकेतापछि पीडकले आफूले ठगी गरेको रकम पीडितलाई फिर्ता गरिदिने भन्दै चेकमार्फत् कारोबार गर्छन् ।
पीडकले काटेको चेकको खातामा पैसा नभएपछि पीडितले रकम पाउँदैनन् । त्यसपछि पुनः पीडित चेक वाउन्सको मुद्दा दर्ता गर्न प्रहरी कार्यालयमा पुग्छन् । पीडकमाथि ठगीको मुद्दा त छँदै छ, उसले यहाँ एउटा अपराधबाट बच्न सहजै अर्को अपराध गर्छ ।
त्यस्तै, राजश्व बढाउन खोज्दा पनि बैंकिङ कसुर भइरहेका छन् । पछिल्लो समय जग्गा किनबेचको कारोबार बंैकमार्फत गर्नुपर्छ । बैंकमार्फत् कारोबार नगर्दा धेरैमा किनेको जग्गा थोरैमा किनेको भन्दै राजश्व छली हुने गरेकाले जग्गाको कारोबारमा अनिवार्य बैंकिङ सिस्टम सुरु भएको हो । जग्गा किन्ने व्यक्तिले रकम बुझाएको भौचर वा चेक दिनुपर्ने हुन्छ ।
सो क्रममा जग्गा किन्ने व्यक्तिले रकम नभएको खाताको चेक दिनुका साथै नक्कली भौचरसमेत मालपोत कार्यालयमा पेस गरेका घटनाहरू पाइएको प्रहरीले जनाएको छ । यसका कारण बैंकिङ कसुरसम्बन्धी मुद्दा बढेको प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक डीएसपी मोहनकुमार थापाले बताए । क्यास कारोबार हुँदा राजश्व छली हुन्थ्यो भने पारदर्शी बनाउँदा अर्काे आपराधिक कार्य बढेको प्रहरीको भनाइ छ ।
प्रहरी परिसरमा दैनिक ५० देखि १०० वटा चेक वाउन्सका मुद्दा दर्ता हुने गरेका छन् । परिसरमा दैनिक दर्ता हुने मुद्दामध्ये ७० प्रतिशत चेक वाउन्सका मुद्दा दर्ता हुने गरेको प्रहरीको तथ्याङ्क छ ।
चेक वाउन्सका मुद्दामध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारीका ठगीसम्बन्धी देखिएको छ । चेक वाउन्सका मुद्दामध्ये झण्डै ६० प्रतिशत मुद्दा यसअन्तर्गत पर्ने डीएसपी थापा बताउँछन् ।
त्यस्तै, दोस्रो नम्बरमा व्यापारिक कारोबार देखिएको छ । व्यापारिक ट्रान्जेक्सन अर्थात् सामानको लेनदेन दोस्रो नम्बरमा देखिन्छ । सरसापट, आपसी लेनदेन, जग्गा कारोबार तेस्रो नम्बरमा देखिने थापा बताउँछन् । सहकारीले पनि ठग्ने गरेको र मिटर ब्याजमा पनि ठगी हुने गरेको समेत थापाको भनाइ छ ।
काठमाडौं प्रहरी परिसरको चालू आर्थिक वर्षको तथ्याङ्कअनुसार दर्ता भएका मुद्दाको ५५ प्रतिशत अपराध बैंकिङ कसुरले ओगटेको छ । व्यापारिक कारोबारमा पार्टनरहरूबीच सम्बन्ध राम्रो हुँदा खालीे चेकमा लेनदेन गरेको र सम्बन्ध बिग्रिएपछि खाली चेकमा वाउन्स गरी मुद्दा दर्ता हुँदा कयौँ व्यक्तिलाई जेल चलान गरिएको प्रहरीको भनाइ छ ।
१० हजारदेखि पाँच करोड रुपैयाँसम्मको मुद्दा परिसरमा आएका छन् । काठमाडौंमा नेपालभरको बैंकको चेक वाउन्सका मुद्दा आउने गरेको परिसरले जनाएको छ । चेक वाउन्समा दोहोरो क्षेत्राधिकार छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरी कार्यालयमा दोहोरो जाहेरी दर्खास्त गरी सरकारवादी फौजदारी मुद्दाको रूपमा कार्बाही हुने व्यवस्था छ । प्रहरी कार्यालमा उजुरी गर्ने हदम्याद वाउन्स भएको मितिले एक वर्ष रहने व्यवस्था छ ।
विनिमेय अधिकारपत्र ऐन, २०३४ बमोजिम चेक वाउन्स भएको मितिले पाँच वर्षभित्र सिधै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था छ । चेक वाउन्सको मुद्दा उच्च अदालतले हेर्ने भएकाले उच्च अदालतमा समेत चेक वाउन्सका मुद्दा हेर्न व्यस्त भएका कारण अन्य जघन्य ठूला मुद्दा पछ्र्योटमा समस्या भएको प्रहरीले बताएको छ ।
काठमाडौंका प्रहरी कार्यालयहरूमा दैनिक ५० देखि ६० वटा चेक बाउन्सका मुद्दा आउने गरेका छन् । चालू आर्थिक वर्ष २०७५÷०७६ मा सात हजार बढी जाहेरी परेका छन् । तीमध्ये हालसम्म ९४४ वटा मुद्दा मात्र फछ्र्योट भएको छ । जनशक्ति अभावका कारण मुद्दा फछ्र्योटमा समस्या भएको प्रहरीको भनाइ छ ।
प्रहरीले २०७३ असोज १८ गतेबाट चेक वाउन्सको मुद्दा हेर्न थालेको हो । प्रहरीले चेक वाउन्सको मुद्दा हेर्न थालेपछि भने अदालतमा मुद्दा कम भएको छ । डीएसपी थापा भन्छन्, ‘प्रहरी समक्ष उजुरी दिँदा छिटो काम हुने, पैसा उठाउन सहज हुने भएकाले अदालतमा मुद्दा दर्ता हुन छाडेका छन् ।’
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६