काठमाडाैं : ‘सगरमाथा क्लिनिङ क्याम्पेन, २०१९’ को टोलीले आजसम्म पाँच टन बढी फोहोर संकलन गरेको छ । ‘सगरमाथा क्लिनिङ क्याम्पेन, २०१९’ कार्यान्वयन कमिटीका अनुसार फोहोर संकलनको काम तीव्र बनाइएको हुँदा दुई हप्ताको अवधिमा यतिका फोहोर संकलन गरिएको हो ।
हालसम्म सगरमाथाको विभिन्न क्याम्पबाट फोहोर संकलन गर्ने काम भइरहेको छ भने ढुवानीका लागि व्यवस्थापनको काम पनि हुँदै छ । सगरमाथाको आठ हजार १६ मिटर उचाइमा रहेको साउथ कोलमा संकलन गरिएको चार सयस ११ केजी फोहोर तल झार्ने काम भइरहेको छ ।
त्यस्तै क्याम्प १ र २ क्षेत्रबाट दुई हजार केजी त्यस्तै गोरक्सेप क्षेत्रबाट एक् हजार दुई सय ३० केजी र बेसक्याम्प आसपासबाट एक हजार नौ सय केजी संकलन भएको ‘सगरमाथा क्लिनिङ क्याम्पेन, २०१९’ कार्यान्वयन कमिटीले जनाएको छ ।
हालसम्मको तथ्यांकअनुसार हालसम्म पाँच हजार पाँच सय ४१ केजी फोहोर संकलन भइरहेको छ भने एक हजार दुई सय ३० केजी फोहोर ढुवानीका लागि कालापत्थर पुर्याइएको छ । सेनाको हेलिकोप्टरबाट ढुवानीका लागि कालापत्थर पुर्याइएको नेपाली सेनाले जनाएको छ ।
फोहोर संकलनको काम अहिले पनि भइरहेको छ । क्याम्प १ र २ को फोहोर संकलनको काम हुँदै छ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा पनि फोहोर संकलनका लागि टोली सोमबार गएका ‘सगरमाथा क्लिनिङ क्याम्पेन, २०१९’ ले जनाए ।
सगरमाथा क्लिनिङ क्याम्पेन, २०१९ को आयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाली सेना, प्रदेश १, सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति, नेपाल पर्वतारोहण संघलगायतले गरेका छन् भने विश्व वन्यजन्तु क्षेत्र, कोकाकोला, तारा एयर, प्रभु बैंक, एनएमबी बैंक, नबिल बैंकलगायतले प्रायोजन गरेका छन् ।
त्यस्तै सगरमाथा आरोहण दलका ३३ समूहले माथिल्लो क्षेत्रको फोहोर सशुल्क ल्याइदिने सहमति जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६