काठमाडौं : सामाजिक सञ्जाल ह्वाट्सएपमा रहेको एउटा कमजोरीलाई दुरुपयोग गरेर ह्याकरहरूले फोन र अन्य उपकरणहरूमा जासुसी सफ्टवेअर राख्न सफल भएको समाचार बाहिर आएको छ ।
फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपले सो आक्रमणले केही निश्चित प्रयोगकर्तालाई लक्षित गरेको र यो काम कुनै दक्ष साइबर विज्ञले गरेको जनाएको छ ।
ह्वाट्सएपले विद्यमान कमजोरीलाई हटाउन सो एपको अपडेट उपलब्ध गराएको छ । उसले आफ्ना सबै एक अर्ब ५० करोड प्रयोगकर्तालाई एप अपडेट गर्न भनेको छ ।
सो कार्य इजरायलमा आधारित एनएसओ समूहले गरेको फाइनान्सल टाइम्सले उल्लेख गरेको छ । सो आक्रमणबारे पहिलो पटक मे महिनामा थाहा भएको थियो ।
ह्वाट्सएपले कति प्रयोगकर्ता प्रभावित भए भनेर भन्न सकिने अवस्था नभएको भन्दै यो आक्रमणको लक्ष्यमा निश्चित व्यक्तिहरू परेको हुन सक्ने बताएको छ ।
आक्रमण गर्ने व्यक्तिले ह्वाट्सएपको भ्वाइस कल सुविधा प्रयोग गरेर निसानामा भएको व्यक्तिलाई घण्टी दिने गर्थे ।
त्यसो गर्दा कल नउठे पनि जासुसी गर्ने उद्देश्यले बनाएको सफ्टवेअर निसानमा रहेको स्मार्टफोनमा स्वतः जडान भइदिन्थ्यो । तर कलको विवरण भने त्यो फोन वा अन्य डिभाइसमा बस्दैनथ्यो ।
ह्वाट्सएपका अनुसार उसको सुरक्षा टोलीले सो कमजोरी पत्ता लगाएको थियो । उसले मानव अधिकार समूह, केही सुरक्षा प्रविधि समूह र अमेरिकी न्याय मन्त्रालयलाई त्यसबारे जानकारी दिएको बताएको छ ।
मंगलवार तेल अभिभस्थित एउटा अदालतमा एनएसओ समूहको प्रविधि निर्यातको अनुमति खारेज गर्ने सम्बन्धमा सुनुवाइ हुँदैछ ।
इजरायली कम्पनी एनएसओ समूहले सो सफ्टवेअर विकसित गरेको अनुमान गरिएको छ । एनएसओलाई ‘साइबर हतियार विक्रेता’ का रूपमा चिनिन्छ ।
यसको प्रमुख सफ्टवेअर पेगाससले फोनको माइक्रोफोन र क्यामरा प्रयोग गरेर स्थान तथा स्थितिको जानकारी जासुसी गर्न सक्ने बताइएको छ ।
एक विज्ञप्तिमा समूहले भनेको छ, ‘हाम्रो प्रविधि सरकारी निकायहरूलाई अपराध र आतंकवादविरुद्ध लड्ने उद्देश्यको हो । कम्पनीले यो प्रविधि सञ्चालन गर्दैन र सुरक्षा निकायहरूले सार्वजनिक सुरक्षाका कार्यमा यसलाई कसरी प्रयोग गर्ने भन्ने निक्र्यौल गर्छन् ।’
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६