राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र संघर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ ।
राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय संकट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
गत अप्रिलयता दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने सयौंको ज्यान गइसकेको छ । लिबियामा हाल राष्ट्रसंघ समर्थित लिबियाली सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तार निकट सैनिकबीच त्रिपोलीलाई नियन्त्रण गर्ने नाममा भिडन्त जारी छ ।
गत सातादेखि दुबै पक्षबीचको लडाइँ अझ व्यापक भएको राष्ट्रसंघको भनाई छ । हकका अनुसार करिब तीन हजार २ सय शरणार्थी र आप्रवासीहरु बन्दी अवस्थामा रहन बाध्य छन् । उनीहरुलाई खाना, पानी र स्वास्थ्यसेवाको चरम अभाव छ ।
राष्ट्रसंघीय आप्रवासन एजेन्सीका अनुसार करिब ६७ हजार मानिस आफ्ना घर छाडेर भागेका छन् भने करिब एक लाख मानिस जोखिममा परेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६