भोजपुर : केही वर्षअघिसम्म घर आसपासमा होस् या सडकमा पञ्चेबाजाको आवाज सुन्नेबितिकै दौडनेहरू भेटिन्थ्ये । कारण थियो हरेक बिहेमा पञ्चेबाजा बजाउँदै बेहुलाबेहुली ल्याउने चलन ।
हो, केही वर्षअघिसम्मको यो पञ्चेबाजाको आवाज अहिले गाउँघरमा एकदम कम सुनिन्छ । पछिल्लो पुस्तामा परम्परागत बाजाभन्दा पनि आधुनिक प्रविधिमा ध्यान बढ्दै गएकाले पुराना संस्कृति र परम्पराहरू पनि ओझेलमा पर्दै जान थालेका हुन् ।
दमाहा, झ्याली, ट्याम्को, नरसिंगा र सहनाई पाँच प्रकारका बाजा एकैपटक लय मिलाएर बजाइने बएकाले यसलाई एउटै नाम ‘पञ्चेबाजा’ ले चिनिन्छ ।
पछिल्लो पुस्तामा पुराना लोकबाजाहरूको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ भन्ने भावना नदेखिएकाले यस्ता कुराहरू लोप हुँदै गएको नेपाली विषयका शिक्षक खोमराज धमलाको भनाइ छ । उनी भन्छन्, ‘अहिलेका पुस्तालाई के हो पञ्चेबाजा, के हो नरसिंगा मतलब नै छैन । यस्तै हो भने अब ती कुराहरू क्रमिकरूपमा इतिहास मात्र बन्ने हुन कि !’
त्यति मात्र होइन, पछिल्लो समयमा बाजागाजा बजाउने सिपालु मान्छेको संख्यामा समेत कमी आएपछि पनि परम्परा हराउँदै गएको स्थानीयको भनाइ छ । भोजपुर नगरपालिका–५, बोखिमका ६६ वर्षीय पर्शुराम मोते भन्छन्, ‘बाबुबाजेले गर्दै आएको यो परम्परा, यो मान्यतालाई अहिलेको पुस्ता बुझ्न चासो दिँदैन ।’ उनले भने, ‘हाम्रो शेखपछि कसले बाजा बजाउला ? भएको बाजा पनि लोप हुन लागिसक्यो ।’
विशेष गरी सहनाई विवाहबाहेक दसैं तिहार, विभिन्न परम्परागत सांस्कृतिक पर्वका बेला बजाइन्छ । नेपाली लोक संस्कृति जोडिएको पञ्चेबाजामध्ये एक सहनाईको महत्व पछिल्लो पुस्तामा आएर पूरै परिस्कृत हुन थालेको पर्शुरामको भनाइ छ ।
वर्षौंदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोक पञ्चेबाजा जगेर्नाको सट्टा युवा पुस्तामा नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धरासायी बन्दै गएको भोजपुर नगरपालिका–१० भैसीपंखाका कृष्ण प्रधान बताउँछन् ।
‘आधुनिक गीतसंगीत र नयाँ प्रविधिका वाद्यवादनको लोकप्रियताले नेपाली पहिचान बोक्ने पञ्चेबाजा लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको छ’, उनले भने, ‘अहिलेका युवा पुस्ता त बजारमा आएर पेन ड्राइभमा गीत भरेर लान्छन्, गाउँमा गएर छानी छानी बजाउँछन् ।’
एकातिर चासो कम हुनु र अर्कातिर गाउँघरमा पञ्चेबाजा बजाउन जान्ने मान्छेको कमीले पनि लोकबाजाको रौनक हराउँदै गएको भोजपुर नगरपालिका–३, गुप्तेश्वरका ७० वर्षीय टेकबहादुर मोते बताउँछन् ।
‘चाडबाडका बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने शिल्पकार अहिले कतैकतै मात्र भेटिन्छन्’, उनले भने ।
केही दिनअघि मात्र भोजपुरको सिद्धकालीमा हिन्दू जागरण नेपालले गरेको पाँच दिने बहुधार्मिक बहुसांस्कृतिक महायज्ञमा भने पुरानो संस्कृतिलाई निरन्तरता दिन आफूहरूले पञ्चेबाजा नै बजाउन लगाएको हिन्दू जागरण नेपालका अध्यक्ष बोधराज अधिकारीले जनाए ।
बिहे, कर्मकाण्ड, ब्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, विभिन्न पूजा लगायत धार्मिक एवं सामाजिक सांस्कृतिक मूल्यमान्यतामा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजा ओझेलमा पर्दै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने भोजपुरवासी हरिकृष्ण दाहाल बताउँछन् ।
‘युवापुस्ताले आफ्नो रीतिरिवाज नै बिर्सन थालिसक्यो । पुराना परम्परा र संस्कारभन्दा पनि विदेशी संस्कारमा उनीहरूको बढी रुचि छ’, दाहालले भने, ‘आधुनिक प्रविधितिर उनीहरूको ध्यान गएकाले लोकबाजा प्रयोगविहीन बन्दै गएका छन् ।’
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६