अमरगढी : डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो । डढेलो नियन्त्रण हुन नसक्दा स–साना बोटबिरुवा जलेर मर्नेलगायत जनावर र चराचुरुङ्गीमा समेत नराम्रो असर पर्ने गरेको छ ।
डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत प्रकाश जोशीका अनुसार स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको छ । सहायक वन अधिकृत जोशीले भने, चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरवाहीपूर्ण तरिकाले जानीजानी आगो लगाइदिँदा वन डडेलो बढेको हो । जनचेतनाको अभाव पनि देखिएको भन्दै उनले यो वर्ष डढेलो नियन्त्रणका लागि जिल्लाव्यापीरूपमा अभियान नै सञ्चालनमा ल्याइएका जानकारी दिनुभयो । आगो लगाउँदा जङ्गलमा घाँस राम्रोसँग पलाउने हुँदा जिल्लाका कतिपय स्थानमा उपभोक्ताले आगो लगाउने र आगो बढ्दै गएर वन विनाशको कारण पनि बन्ने गरेको पाइएको छ ।
झारपात सुक्ने मौसममा सानो आगोको झिल्कोका कारण लागेको लागो पनि महीना दिनसम्म वनमा देखिने गरेको छ । राजमार्ग छेउछाउका जङ्गलमा समेत अत्यधिक डढेलो लागेको छ । जिल्ला वन कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा कूल भूभागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजङ्गलले ओगटेको छ । एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ । रासस