बेइजिङ : अमेरिकाले चिनियाँ सामानमा करवृद्धि गरेको जवाफमा चीनले पनि अमेरिकी सामानमा करवृद्धि गरेको छ ।
व्यापारवार्ता चलिरहेका बेला अमेरिकाले चिनियाँ सामानमा करवृद्धि गरेको तीन दिनपछि चीनले पनि सोही प्रकारको कदम चालेको हो ।
यसले चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने संकेत देखिएको छ । साठी अर्ब डलर बराबरका अमेरिकी समानमा चीनले थप कर लगाउने घोषणा गरेपछि अमेरिकी शेयर बजार नराम्ररी प्रभावित भएको छ ।
चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ ।
अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको छ ।
गत शुक्रवार अमेरिकाले २ सय अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो । त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ ।
त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स ६ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ ।
कर नबढाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीलाई चीनले बेवास्ता गरेको गर्दै कर वृद्धिको निर्णय गरेको हो । चीनले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने निर्णय गरेको छ ।
चीन र अमेरिकाबीच चर्किएको व्यापारिक तनावबारे चिन्ता बढ्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ सो विषयमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग अर्को महिना छलफल हुन सक्ने बताएका छन् ।
दुई नेताबीच अर्को महिना जापानमा हुने जी–२० समूहको बैठकमा भेट हुनेछ । त्यसअघि ट्रम्पले चीनले अमेरिकाबाट धेरै रकम लगिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
बेइजिङले अमेरिकी कदमको प्रतिक्रियास्वरूप त्यस्तै निर्णय गर्न आफू बाध्य भएको बताएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६