बागलुङ : जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महिना दिनदेखि पठनपाठन प्रभावित भएको छ ।
यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ । पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा खुला आकाशमुनि पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामु विकले बताए ।
विद्यालयको छाना उडाएको महिना दिन बित्न लाग्यो, सम्बन्धित निकायलाई जानकारी गराएका छौँ , प्रधानाध्यापक विकले भने, हालसम्म नगरपालिका, जिल्ला समन्वय समिति तथा शिक्षा एकाइ कतैबाट सहयोग भएको छैन ।
विद्यालयको दुईकोठे छानो उडाउँदा भवनको गारोसमेत चिरा परेकाले जरैबाट भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको विकले बताए । उनले छाना छाउने नगरपालिकाले आश्वासन दिए पनि हालसम्म कुनै सहयोग नआउँदा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको जनाए ।
नगरस्तरीय विपत् व्यवस्थापन समितिले विद्यालयको स्थलगत अनुगमन गरिसकेको र क्षतिको विवरण प्राप्त हुँदासाथ विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।
हावाहुरीले २ र ३ कक्षाका विद्यार्थी अध्ययन गर्ने कक्षाकोठाको छानो उडाएको हो । विद्यालयमा अन्य भवन नभएका कारण खुला आकाशमुनि, बाल विकास भवनको बार्दली र कहिले दुई कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षिका दीक्षा शर्माले बताए ।
हावाहुरीले उडाएको कक्षाकोठासँगैको एक कोठे भवनसमेत भूकम्पले चिरा पारेका कारण जोखिम मोलेर अध्ययन/अध्यापन गराउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । बाल विकास देखि ५ कक्षासम्म अध्यापन हुने विद्यालयमा जम्मा ४३ विद्यार्थी छन् । विद्यालयमा अधिकांश दलित विद्यार्थी छन् ।
बाढीका कारण तीन घर विस्थापित
यसैबीच, सोमबार साँझ परेको भारी वर्षाका कारण बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ खालमा तीन घरमा ठूलो क्षति पुर्याएको छ । पानीसँगै माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको छ भने गोपाल श्रेष्ठ र गङ्गे सार्कीको घरमा बाढी पसेका कारण पनि क्षति पुगेको वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए । घ्वाङ्गखोलाको भलसहित आएको बाढीले घरमा क्षति पुर्याउँदा बस्नै नमिल्ने गरी क्षति पु¥याएको हो । विस्थापित तीन घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष क्षेत्रीले बताए ।
माथिबाट आएको बाढीका कारण झण्डै दुई घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । बाढीका कारण लोकमार्ग अवरुद्ध भएपछि तत्कालै जेसिभीको सहायताले सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताए । करिब एक घण्टासम्म आएको भारी वर्षाका कारण स्थानीय त्रसित भएका थिए । -रासस
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६