काठमाडौं : सरकारले ‘१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता, २०७६’ को लोगो सार्वजनिक गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो। सो प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले बताए ।
कलाकार भोलानाथ पौडेलले परेवाको आकृतिसहितको लोगो तयार गरेका हुन् । लोगोमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउने बताइएको छ । लोगोमा सार्क राष्ट्रहरूको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ ।
मन्त्री विश्वकर्माले प्रतियोगिताको पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको बताए । सरकारले सो खेलकुद प्रतियोगिताका लागि करिव चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान पनि गरेको छ ।
बजेटको व्यवस्थापनका लागि परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति पनि गठन गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६