काठमाडौं : नेपाली कांग्रेसले एभिन्युज टेलिभिजनको बिरगञ्जस्थित कार्यालयमा भएको तोडफोडको निन्दा गरेको छ । सोमबार दिउँसो कार्यालय तोडफोड भएपछि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सो घटनाको भत्र्सना गरेको हो ।
‘प्रतिकुनै निश्चित समाचार प्रसारणका कारण होस् या व्यक्तिगत अथवा अन्य कुनैपनि कारणले कुनैपनि संचार माध्यममाथि भौतिक क्षति पुग्ने उच्छृङ्खल कार्य जो कसैबाट भएको भए पनि त्यो अत्यन्तै निन्दनीय छ ,’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेस प्रति प्रताडना बढ्दै गएको तथ्य दुःखद छ । एकातर्फ प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् ।’ त्यस्तै कांग्रेसले विरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६