विराटनगर : मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगर पुग्नुभयो भने कार्यालय परिसरमा थुपै सवारी साधन बेवारिसे अवस्थामा देख्नुहुन्छ । बेवारिसे सवारी साधनको लस्करमा बा १ ब ४६३४ नम्बरको सरकारी नम्बरप्लेटको मोटरसाइकल त्यत्तिकै थन्किएको छ । सुजुकी कम्पनीको सो मोटरसाइकल ट्राफिक प्रहरीले प्रयोग गर्दै आएको साधन हो । तर त्यो मोटरसाइकल बिग्रिएको छ । प्रयोगमा आएको छैन । ट्राफिक प्रहरीले सो मोटरसाइकल नदौडाएको वर्षौं भइसक्यो । प्रहरीसँग त्यो मोटरसाइकल बनाउने पैसासमेत छैन ।
सोमबार दिउँसो जिल्लाको ट्राफिक प्रहरी कार्यालयमा दुईजना प्रहरी आफ्नै काममा व्यस्त थिए । स्थानीय गोल्छा चोकको जाम पन्छाएर मध्याह्न कार्यालयकै मेसमा खाना खाएर अलिकति फुर्सदिला बनेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शिव पोखरेल निकै हतारमा थिए । उनी कार्यालयमा टुसुक्क बस्न नपाउँदै प्रदेश १ को प्रहरी कार्यालयमा प्रहरीहरूलाई तालिम दिन दौडिहाले । बाँकी रहेका दुई ट्राफिक प्रहरीले कार्यालय सम्हालेर सेवाग्राहीलाई सेवा दिनमै व्यस्त थिए ।
प्रदेश १ को स्थायी राजधानी विराटनगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सीमित स्रोत साधन र कम जनशक्तिका बीचमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण यसले सबैलाई समस्या परेको छ ।
दिनहुँ सयौंको संख्यामा सवारीसाधन थप भइरेका छन् । तर यता ट्राफिक प्रहरीको दरबन्दीमा भने कुनै फेरबदल नहुँदा समस्या जस्ताको तस्तै छ । विराटनगर महानगरको सडक भएर हरेक दिन हजारौँ सवारीसाधन आवतजावत गर्छन् । प्रधानमन्त्री, मन्त्री लगायत प्रदेशका मुख्यमन्त्री, मन्त्री र अरू भिआइपीहरूको आवतजावत पनि बाक्लै हुन्छ । तर महानगरको ट्राफिक व्यवस्थापन भने ४५ जना ट्राफिक प्रहरीको जिम्मामा छ ।
जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शिव पोखरेलको कमान्डमा दुई सई, आठ असई र बाँकी हबल्दार र प्रहरी जवानले विराटनगर महानगरपालिका क्षेत्रभित्र ट्राफिक व्यवस्थापनको कार्य गर्दै आएका छन् । ट्राफिक प्रहरीले मिल्स एरिया, हाटखोला, पुष्पलाल चोकमा बेग्लै युनिट राखेर काम गर्दै आएको छ ।
विराटनगरबाट दैनिक सयाँैका संख्यामा लामो तथा छोटो दूरीका बस आवतजावत गर्छन् । त्यस्तै भारतीय नाका जोगबनीबाट दैनिक उत्तिकै संख्यामा मालबाहक सवारीसाधन नेपाल भित्रिने गरेका छन् । महानगरले विकासका संरचनाको कामलाई जारी राखेका कारण ट्राफिक समस्या ज्यादै चुलिएको छ । अझ कम संख्यामा ट्राफिक प्रहरी हुँदा काम प्रभावकारी हुन सकेको छैन ।
प्रहरी निरीक्षक पोखरेल कम जनशक्तिका कारण काम गर्न असजिलो भएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘मापसेदेखि, ट्राफिक सचेतना लगायत धेरै काममा बिहानदेखि राति अबेरसम्म खट्नुपर्छ । त्यसैले काम गर्न असजिलो भएकै छ ।’
प्रदेशको राजधानी विराटनगरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जम्मा तीन वटा सवारीसाधन छन् । तीमध्ये दुइटा मोटरसाइकल र एउटा जीप छ । भएको अर्को मोटरसाइकल बिग्रिएर थन्किएको छ । कुनै सवारी दुर्घटना भयो भने पनि ट्राफिक प्रहरीको उपस्थिति हुन निकै समय लाग्ने गरेको छ ।
अझ प्रहरी निरीक्षकको कमान्डमा जिल्लाभरको ट्राफिक व्यवस्थापन हेर्नुपर्दा मोरङ ट्राफिक प्रहरीलाई निकै असजिलो भएको छ । मोरङ ट्राफिकले जिल्लाका पथरी, उर्लाबारी, बेलबारी, विराटचोक, हरैँचा, निमुवा, कर्सिया, रंगेली, सिँजुवा, लेटाङ लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनको काम गर्दै आएको छ । ती कार्यालयमध्ये अधिकांशमा असईले कमान्ड सम्हालेका छन् भने रंगेलीमा हवल्दारको कमान्डमा ट्राफिक व्यवस्थापनको कार्य हुँदै आएको छ ।
प्रदेश १ का प्रहरी प्रमुख डिआईजी केदार रिजाल जिल्लाको ट्राफिक प्रहरीको दरबन्दी मात्र नभएर प्रदेशमै प्रहरीको दरबन्दी कम भएको बताउँछन् । उनले प्रहरीको दरबन्दी थप्ने कार्य सुुरु भएको जनाउँदै विराटनगरमा ट्राफिक प्रहरीको संख्या ७० जना पुर्याइने आजको न्युजलाई जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६