हैदराबाद : मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई हराउँदै आईपीएलको उपाधि चौथो पटक जितेको छ । खेलको १७, १८ र १९ औं ओभरको खेल हेर्दा चेन्नईको पल्ला भारी देखिएको थियो । तर अन्तिम ओभरमा ९ रन जोड्न नसकेर चेन्नईले उपाधी मुम्बईलाई सुम्पियो ।
अन्तिम ओभरमा बलिङमा आएका थिए, श्रीलंकाली बलर लसिथ मालिंगा । १६ औं ओभरमा उनले २० रन दिएका थिए । अन्तिम ओभरमा तिनै मालिंगाको उत्कृष्ट बलिङसँगै मुम्बई च्याम्पियन बन्यो ।
जुन ओभरमा चेन्नईले ७ रन जोड्दा २ विकेट गुमायो । मालिंगाले अन्तिम र निर्णायक बलमा चेन्नईका ब्याट्सम्यान शार्दुल ठाकुलाई एलबीडब्लु धरापमा पारे ।
त्यसलगत्तै प्रतिक्रिया दिँदै मालिंगाले जितको रहस्य खोले । उनले आफूले अन्तिममा जुन बल फालेको थियो, त्यसले अक्सर विकेट दिलाउने गरेको बताए ।
यो ओभरमा १५० रनको लक्ष्य पछ्याएको चेन्नईका शेन वाट्सन ८० रनमा आउट भए । उनको स्थानमा ब्याटिङमा आएका शार्दुललाई योर्करबाट एलबीडब्लु धरापमा पार्दैै मुम्बईलाई चौथो पटक उपाधि दिलाए ।
खेलपछि मालिंगाले भने, ‘अन्तिम बलमा मैले यति उनीहरुले एक रन ल्याए भने सुपर ओभर हुन्छ भन्ने सोचेको थिएँ । तर म आफ्नो टिमलाई जिताउन चाहन्थे र मैले त्यस्तो बल फाले, जसले मलाई अक्सर विकेट दिलाउने गरेको छ ।’ चेन्नईलाई हराउने क्रममा जसप्रित बुमराहले ४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६