पोखरा : नेपाल भलिबल संघको आयोजनाको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष बिच भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक क्यालेन्डर अनुसार नेपाल भलिबल संघले बिच भलिबल गर्न लागेको जानकारी गराए । कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जेठ २३ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीले भने सहभागी हुन नपाउने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिमका महिला र पुरुषका दुई–दुई जोडी गरी ४० टिमको सहभागिता रहने छ । प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० र तेस्रो हुनेले नगद १० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको अनुमानित बजेट २२ लाख रुपैयाँ छ । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङ, कास्की भलिबल संघका अध्यक्षलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६