भोजपुर : जोस र जाँगर भएमा केही गर्न सकिने रहेछ भन्ने उदाहरण बनेका छन् भोजपुरका सीताराम ओझा । फरक क्षमता भएका बालबालिकाहरू खोज्न होस् या विद्यालय व्यवस्थापनका लागि विभिन्न निकायहरूसँग समन्वय गर्न उनी सक्रिय भएर लागिपरेका छन् ।
दुर्गम पहाडी जिल्ला भोजपुरमा हाल फरक क्षमता भएका बालबालिकाहरूको अध्ययनका लागि गएको वर्षदेखि पहिलो पटक भोजपुर बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा आएको छ । भोजपुर बहिरा संघका अध्यक्ष रहेका सीतारामको पहलमा नै जिल्लामा पहिलोपटक विद्यालय खुलेर सञ्चालनमा आएको हो ।
भोजपुर नगरपालिका–९ मा रहेको पुरानो बाल मन्दिरको भवनलाई मर्मतपश्चात् २०७५ साल जेठ महिनाबाट फरक क्षमता भएका बालबालिकाहरूका लागि आवाससहितको विद्यालय सञ्चालनमा आएको हो ।
सुरुआती समयमा छ जना मात्र बालबालिका पढ्न आएको अवस्थामा ओझाको पहलमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । ‘मानिसको इच्छा हो, हामीले जिल्लाका लागि केही गर्नुपर्छ भन्ने सोच राख्यौँ भने जे काम नि गर्न सकिन्छ’, ओझाले भने, ‘म र शान्तकुमार सर जिल्लाका स्थानीय तहसम्मै पुगेर विद्यार्थी बटुल्ने काम गरेका छौँ ।’
विद्यालयमा हाल अरुण, टेम्कैमैयुङ, रामप्रसाद राई गाउँपालिका र भोजपुर नगरपालिकाबाट फरक क्षमता भएका बालबालिकाहरू पढ्न आएका छन् भने आमचोक गाउँपालिकाबाट समेत एक जना आउने विद्यालयले जनाएको छ ।
विद्यालय सञ्चालनका लागि भोजपुर नगरपालिकाले पाँच लाख र अन्य गाउँपालिकाहरूबाट पनि आर्थिक सहयोग उपलब्ध भएपछि विद्यालय सञ्चालनमा आएको थियो । १० जना बालबालिकाको कोटा भए पनि फरक क्षमता भएका बालबालिकाहरूको आउने क्रम जारी रहेको सीताराम बताउँछन् ।
विद्यालयमा हाल एक जना दोभाषे शिक्षक कार्यरत छन् भने विद्यालयमा अध्ययरत फरक क्षमता भएका बालबालिका बस्नका लागि होस्टेलको समेत व्यवस्था गरिएको छ ।
भोजपुर जिल्लाको एक मात्र विशेष बहिरा विद्यालयका लागि प्रतिनिधिसभा सदस्य सूदन किराँतीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय वरिपरि घेरबारा, गेट र दुई कोठे बाथरुम निर्माणका लागि सहयोग गरेका छन् ।
भोजपुर बहिरा संघको पहलमा जिल्लामै एक मात्र फरक क्षमता भएका बालबालिकाहरूका लागि विद्यालय खुलेको बताउँदै उद्योग बाणिज्य संघ भोजपुरका कार्यालय सचिव मिना कार्कीले यसलाई व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘जसरी विद्यालयलाई जोगाइराख्न र बालबालिका खोज्न भोजपुर बहिरा संघका अध्यक्ष सीताराम र शिक्षक शान्तकुमार हिँडेका थिए, त्यसरी नै सरोकारवाला सबै लागिपरेमा विद्यालय सञ्चालनमा कुनै समस्या हुने छैन ।’
विद्यालय सञ्चालनका लागि क्रियाशील बनेका सीताराम कहिले बालबालिका खोज्न गाउँगाउँ पुगिरहेका हुन्छन् त, कहिले गाउँपालिका र नगरपालिका अध्यक्षलाई भेट्न त, कहिले मन्त्रालय । उनको यो खटाइमा जिल्लाबासी सबैको सहयोग आवश्यक रहेको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराई बताउँछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टराई भन्छन्, ‘जिल्लामा पहिलोपटक सञ्चालनमा आएको विद्यालय संरक्षणको जिम्मा कसको र त्यसका लागि कसले नेतृत्व गर्ने भन्ने भूमिका महत्वपूर्ण भएकाले त्यसका लागि पनि जिल्ला तहमा बहस चल्नुपर्छ ।’
विद्यालय सञ्चालन र व्यवस्थापनमा सहयोग पुर्याउन स्थानीय दीपा शर्माको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिसमेत गठन गरिएको छ । विद्यालयमा १० जनाको कोटा रहेको र बालबालिका सोभन्दा बढी भएकाले होस्टेल व्यवस्थापनमा भने केही समस्या भएको ओझाले बताए ।
विद्यालयमा कार्यरत दोभाषे शिक्षकका लागि भने भोजपुर नगरपालिकाले तलबको व्यवस्था गर्दै आएको छ । खानेपानी र विद्युत्का लागि समेत नगरपालिकाबाट रकम आउने भनिए पनि सो नआउँदा थप समस्या भएको ओझाको भनाइ छ ।
पहिल्लो समयमा जन्मदिन जस्ता अवसरमा फजुल खर्च गर्नुभन्दा विद्यालयलाई सहयोग गर्ने परिपाटी आएकाले शैक्षिक सामग्रीका लागि भने केही सहज भएको विद्यालयले जनाएको छ । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यालयका बालबालिकालाई खाने कुराका साथै शैक्षिक सामग्री प्रदान गर्नु उचित हुने उद्योग वाणिज्य संघ भोजपुरका पूर्वअध्यक्ष डम्बरकुमार श्रेष्ठ बताउँछन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६