धादिङ : राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा आगामी असार १५ गते धादिङमा खुल्ला हिले दौड प्रतियोगिता हुने भएको छ । संस्थाले ०७६ असार १५ गते निलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीमा दहि चिउरा खाने कार्यक्रम सहित खुल्ला हिले दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
देश तथा बिदेशबाट महिला, पुरुष नै सहभागी हुन पाउने उक्त प्रतियोगितामा प्रथम पुरस्कार राशी ५० हजार नगद सहित शिल्ड र प्रमाण पत्र राखिएको छ । लोक खेल अन्तर्गत हिले दौडको संरक्षण र लोप हुन नदिन प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । लोप हुदैं गईरहेको नेपाली लोकखेलहरुको परापूर्व कालदेखि चल्दै आईरहेको नियमहरुलाई आत्मसाथ गदै ती नियम तथा खेल विधिलाई वैज्ञानिक गर्दै लोकखेलहरुको संरक्षण र यसको महत्वका विषयमा प्रचार–प्रसार गर्नको लागि यस्ता प्रतियोगिताको आयोजना गरीएको राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघका संरक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा पुरस्कार राशी प्रथम, द्धित्तिय, तृत्तिय र सान्त्वना पुरस्कार नगद ५० हजार, ३० हजार , २० हजार र १० हजार राखिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १८ बर्ष उमेर समुह देखि ४० वर्ष सम्मका महिला पुरुषनै सहभागि हुन पाउने श्रेष्ठले बताए । हिले दौड प्रतियोगितामा सहभागि हुनको लागि प्रवेश शुल्क नेपाली नागरिकलाई ५ सय र विदेशी नागरिकलाई १ हजार लाग्ने छ । प्रतियोगिता नाम दर्ता गर्नको लागि अन्तिम मिति ०७६ साल असार ५ गते सम्म मात्र पाइने आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको भुमिका महत्वपुर्ण हुन्छ भन्ने कुरालाई मनन् गरी लोक खेल संरक्षणमा युवावर्गहरुको उत्तरदायित्वलाई समेट्दै लोक खेलहरुको प्रर्वद्धन गर्न जिल्ला प्रशासन कार्यलय धादिङमा राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघ दर्ता गरिएको संस्थाका सचिव अर्जुनकुमार श्रेष्ठले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६