बेल्जियम । नेपाल पर्यटन बोर्डले बेल्जियमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल विनोद न्यौपानेलाई मानार्थ पर्यटन दूत नियुक्त गरेको छ । न्यौपानेलाई बेल्जियममा नेपालको पर्यटन विकास तथा प्रवद्र्धनका लागि भन्दै बोर्डले आगामी दुई बर्षका लागि नियुक्त गरेको हो । प्रदेश नं. ४ को गोरखा आरुआर्बाङ स्थायी घर भएका न्यौपाने प्रवासी नेपाली मञ्च बेल्जियमका संस्थापकमध्येका एक हुन् । मानार्थ दूत नियुक्त गरेकोमा पर्यटन बोर्डलाई धन्यवाद दिदै उनले मातृभूमिले दिएको जिम्मेवारीबाट आफू उत्प्रेरित र उत्साहित भएको बताएका छन् । बेल्जियमबाट अहिले बर्षेनी ३ हजार पर्यटक नेपाल घुम्न आउन गरेका छन् । युरोपियन मुलकमध्येबाट बेल्जियम सबैभन्दा कम पर्यटक नेपाल आउने देशमा पर्छ । त्यसैले बेल्जियमका पर्यटकलाई नेपाल भित्र्याउने वातावरण बनाउन नेपाली दूतावास, एनआरएन, सामाजिक संघसंस्था तथा मिडियासँग मिलेर काम गर्ने न्यौपानेले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७३