काठमाडौं : कोटेश्वर–कलंकी सडकखण्डमा आकाशे पुलःनिर्माणमा ढिलाइ भएको छ । निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिए पनि अहिलेसम्म भौतिक प्रगति ज्यादै न्यून छ ।
यो सडकमा छ स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । तीमध्ये तीन स्थानमा काम अघि बढे पनि तीन स्थानमा अघि बढ्न नसकेको योजनामा कार्यरत इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।
उनका अनुसार काम गर्ने स्थानमा अरु कुनै बाधा नभए पनि ठेकेदार आफैँले ढिलासुस्ती गरिरहेको हो । उनले भने, अवधि सकिएको पाँच/छ महिना हुन लाग्दासमेत जगको कामभन्दा अघि बढ्न सकेको छैन । सडक निर्माणका क्रममा चीन सरकारले निर्माण गरेको तीन वटा आकाशे पुल अपर्याप्त भए पनि सरकारले थप पुल निर्माण सुरु गरेको थियो ।
चीन सरकारले गत माघमा नै नेपाल सरकारलाई आठ लेनको यो सडक हस्तान्तरण गरेको थियो । त्यसभन्दा पहिले नै सरकारले थप छ स्थानमा आकाशे पुल निर्माण सुरु गरेको थियो । पुल निर्माण भएपछि झण्डै एकदेखि डेढ किलोमिटरको दूरीमा एउटा आकाशे पुल हुने छ ।
उनले भने, नौ ठाउँमा आकाशे पुल भएपछि यात्रुलाई सडक काट्न सजिलो हुनेछ । सडक सुरक्षाका लागि सरकारले विभिन्न स्थानमा सडक चिह्न निर्माण गरिरहेको छ । सरकारले आठ लेन सडकको दायाँबायाँ गरेर दुबैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण गरिरहेको छ ।
कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त
भूकम्पको पाँच वर्ष बितिसक्दा समेत पाटनको प्रसिद्ध कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सकिएको छैन । मन्दिरको निर्माण गर्न तोकिएको अवधि सकिएर थप भएको समयमा समेत काम सम्पन्न हुन नसकेको हो ।
विसं २०७२ को भूकम्पका कारण पाटनका अरु सम्पदा जस्तै बङ्गलामुखीसँगै रहेको कुम्भेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरेर काम सुरु भए पनि त्यो अवधि सकिएर अर्को छ महिना थप भएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । थप भएको अवधि आगामी असारमा सकिने भए पनि काम सकिने देखिएको छैन ।
अहिले मन्दिर निर्माणका लागि आवश्यक काठको काम भइरहेको उनले बताए ।
उनका अनुसार ठेकेदार कम्पनीले ८० प्रतिशतसम्म काम सकाउँदा मात्रै अवधि थप हुनेछ । ठेकेदारले काम सरासर गरिरहँदा अवधि थप गरिन्छ , उनले भने, हामी अवधि थपिरहने तर ठेकेदारले काम नगर्ने हुनुहुँदैन ।
पाँच तले यो मन्दिरको छानाको काम सबै तलामा र पर्खालको काम तेस्रो तलादेखिमाथि मात्रै भइरहेको कार्यालयले जनाएको छ । प्रमुख प्याकुरेलका अनुसार सुरुमा सबै तलामा पुनःनिर्माण गर्ने कि बढी क्षति पुगेका तलामा मात्रै गर्ने भन्ने टुङ्गो लाग्न नसक्दा काम अघि बढ्न सकेको थिएन ।
त्यसपछि पनि स्थानीयबासीले त्यहाँ रहेका महत्वपूर्ण सामग्रीको सुरक्षामा चासो दिएको उनले बताए । उनले भने, यी कुरा टुङ्गो लागेपछि मात्रै पुनःनिर्माण सुरु भएको थियो, अहिले स्थानीयवासीको पनि पूरै सहयोग रहेको छ ।
यो मन्दिर १३ औँ शताब्दीमा राजा जयस्थिति मल्लले निर्माण गर्न लगाएको विश्वास गरिन्छ । पाटन दरबार क्षेत्रबाट झण्डै दुई सय मिटरको दूरीमा रहेको यो मन्दिरमा सोमबार र गोकर्ण औँसीको दिनमा दशनार्थीको भीड हुने गरेको छ । -रासस
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६