नयाँ दिल्ली : भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ ।
आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो ।
यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भइरहेको हो ।
आजको निर्वाचनमा केन्द्रीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काँग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्रज्ञा सिंह ठाकुरलगायतका नेता पनि चुनावी मैदानमा रहेका छन् ।
भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ ।
यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।
पाँचौ चरणको निर्वाचनमा सात राज्यका ५१ स्थानका लागि मतदान भएको थियो ।
भारतमा आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन भएपछि मे २३ मा मतगणता हुने कार्यक्रम छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६