काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच १६ बुँदै सहमति भएको छ ।
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री ग्युगन सुआन फुकसँग भएको भेटवार्तापछि नेपाल र भियतनामका अधिकारीबीच १६ बुँदे सहमति भएको हो ।
दुई देशबीच भएको सहमतिअनुसार सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई एक अर्को देशमा जाँदा भिसा चाहिनेछैन ।
यसैगरी भियतनामले नेपाली सामान आयात गर्ने र नेपालमा भियतनामका लगानीकर्ता तथा व्यवसायीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने पनि सहमति भएको छ । व्यापार तथा लगानी सम्बन्धी सम्झौताको लागि पहल गर्ने सहमति पत्रमा उल्लेख छ ।
नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने, पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमति पनि भएको छ ।
विदेशमन्त्री स्तरीय दुई पक्षीय परामर्श संयन्त्र निर्माण गर्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने, भियतनामको आन्तरिक सुरक्षा मन्त्रालय र नेपालको गृहमन्त्रालयबीच फौजदारी कानुनको कार्यान्वयन तथा अपराधविरुद्ध सहकार्य गर्नका लागि सम्झौता गर्ने र त्यसका लागि छलफल सुरु गर्ने सहमति पनि भएको छ ।
भियतनामका प्रधानमन्त्री फुकले सन् २०२०÷२१ सम्म संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य बन्ने लक्ष्यमा रहेको भन्दै सहयोग गर्न नेपाललाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६