काठमाडौं : रुकमाङ्गद कटवाल ट्रस्टले आज एक कार्यक्रमबीच छात्रवृत्ति वितरण र आजीवन सदस्यहरूलाई सदस्यता वितरण गरेको छ ।
२०७१ सालमा स्थापना भएको ट्रस्टले छात्रवृत्ति पाउने विभिन्न जिल्लाका ३६ विद्यार्थीहरूले सम्बन्धित तहको अध्ययन पूरा गरिसकेका छन् । त्यस्तै गत वर्षका २५ जनाले र यस वर्षका २८ जना गरी ५३ जनाले छात्रवृत्ति पाइरहेको ट्रस्टले जनाएको छ ।
ट्रस्टबाट छात्रवृत्ति पाएर अध्ययन पूरा गरेकाहरूले जागिर पनि पाइसकेका छन् भने देशका विभिन्न स्थानमा जागिरको सिलसिलामा काम गरिरहेका छन् । त्यसमध्येकी एक हुन्, जुम्ला खलंगाकी विमला खत्री । उनी स्टाफ नर्स पढ्न चाहन्थिन् । तर उनको आर्थिक अवस्थाले नसक्ने भएपछि उनले घर धितो राखेर पढ्ने स्थिति आएको थियो । तर उनलाई ट्रस्टले छात्रवृत्ति दिएपछि उनको घर जोगिएको छ भने उनले अध्ययन पूरा गरेर आफैले अध्ययन गरेकको कर्णाली स्वा्थ्य विज्ञान प्रतिष्ठन जुम्लामै जागिर खाइरहेकी छिन् ।
.JPG)
आज आयोजित कार्यक्रममा ट्रस्टका सचिव जगत कटवालले पेस गरेको प्रतिवेदनअनुसार ट्रस्टले २०७२ सालको भूकम्पमा परेका काभ्रेका पीडित र अन्य विभिन्न जिल्लाका विद्यालयहरूलाई राहतस्वरुप जस्ता वितरण गरेको थियो । त्यस्तै बारा र पर्साका टोर्नाडो पीडितहरूलाई पनि रातह वितरण गरिएको उनले बताए । ट्रस्टमा हालसम्म ३८ जना आजीवन सदस्य रहेको उनले जानकारी दिए ।
ट्रस्टकी कोषाध्यक्ष सुलक्षणा ढकालका अनुसार गत वर्ष र यस वर्षका ५३ विद्यार्थीहरूको शैक्षिक छात्रवृत्तिमा ५१ लाख ६० हजार सात सय ५३ रुपैयाँ वितरण गर्ने कार्यक्रम छ । त्यस्तै विभिन्न संकायमा छात्रवृत्ति पाई अध्ययन पूरा गर्ने ३६ जना विद्यार्थीका लागि १५ लाख ७५ हजार आठ सय रुपैयाँ खर्च भइसकेको पनि उनले जानकारी गराइन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६