काठमाडौं : अपराध अनुसन्धान महाशाखा टेकुमा दिनहुँजसो ५० देखि सय वटासम्म मोबाइल चोरीको निवेदन दर्ता हुन्छन् ।
आर्थिक वर्ष २०७३/७४ मा १२ हजार चार सय ३० मोबाइल हराएको/चोरी भएको निवेदन दर्ता भएका छन् । जसमध्ये एक हजार छ सय ८१ मोबाइल मात्र फेला परे । अझै १० हजार सात सय ४९ मोबाइल खोजतलास गर्न बाँकी रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा १५ हजार सात सय ८७ मोबाइल हराएको निवेदन दर्ता भएका छन् । जसमध्ये एक हजार पाँच सय १८ वटा मोबाइल मात्र भेटिएको छ । १४ हजार दुई सय ६९ मोबाइल खोजतलास गर्न बाँकी रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै २०७५/७६ अर्थात् चालू आर्थिक वर्षको वैशाख १६ गतेसम्मको तथ्यांक अनुसार १३ हजार ३१ मोबाइल हराएको निवेदन दर्ता भएका छन् । जसमध्ये एक हजार आड सय सात वटा मोबाइल भेटिएका छन् । ११ हजार दुई सय २४ मोबाइल भेटिन बाँकी छ । कतिपयले त भेटिने होइन भन्दै चोरीको निवेदन नै दर्ता गर्दैनन् ।
यसरी हेर्दा मोबाइल चोरीको घटना अत्यधिक मात्रामा बढेको छ । उता भेटिने सम्भावना भने झनै कम हुँदै गएको छ ।
प्रहरी प्ररिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापा भन्छन्, ‘एक वर्षअघि दिनमा सयदेखि डेढ सयसम्म मोबाइल हराएको निवेदन आउने गथ्र्यो । त्यतिखेर २५ देखि ३० वटा मोबाइल भेटिन्थे पनि । तर हाल हप्तामा नौ वटा जति मात्रै मोबाइल भेटिन थालेको छ ।’
किन भेटिँदैनन् हराएका मोबाइल
मोबाइल भेटाउने उपाय भनेको आईएमईआई नम्बरबाट ट्रेस गरेर हो । मोबाइलको आईएमईआई नम्बरबाट मोबाइल ट्रेस गर्न थालिएपछि चोरहरू पनि बाठा हुन थालेका छन् । ‘ट्रेस गर्दा मोबाइल भेटिने भएकाले मोबाइलमा भएको सिम प्रयोग नगर्ने र मोबाइलको पार्टपार्ट बनाएर पनि बेच्न थालेका छन्’, प्रहरी नायव उपरीक्षक थापा भन्छन्, ‘त्यस्तै सिम नै प्रयोग नगरी स्मार्ट फोन मात्रै प्रयोग गर्न थालेका छन् । यसकारण मोबाइल भेटाउन समस्या भएको छ ।’
चोरी गरिएको मोबाइल संकलन गरी भारतसम्म लैजाने गरिएको जानकारीमा आएको उनले बताए । उनी भन्छन्, ‘चोरी गरिएको मोबाइल संकलन गरेर भारतमा पठाउने र भारतका मोबाइल यहाँ ल्याएर सेकेन्ड हेन्डमा बेच्ने गरेको जानकारी पाएका छौँ । केही संख्यामा त्यस्ता मोबाइल भर्खरै मात्र नियन्त्रणमा लिएका छौँ ।’
दैनिकजसो मोबाइल चोरी र अन्य आपराधिक घटनाका लागि तीन सय जति मोबाइल ट्रेसका लागि अदालतसँग अनुमति लिएर टेलिकममा पठाउने गरिएको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६