भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ बालकोट र मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ शंखधर चोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुलमाथि मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले डोजर चलाएर भत्काएका छन् ।
जिल्ला विकास समितिको मातहतमा रहेर ३ नम्बर प्रदेश भौतिक पूर्वाधार कार्यालय धुलिखेल अन्तर्गत स्थानीय सडक पुल सहयोग इकाई ललितपुरको प्राविधिक सहयोगमा दुई करोड रुपैयाँको लागतमा २०७२ साल वैशाखदेखि भण्डारी थोटुङ/श्यामबाबु जेबी कम्पनीले निर्माण सुरु भएको यो पुल अन्तिम चरणको काम हुँदै गर्दा नगर प्रमुख श्रेष्ठले डोजर चलाएका हुन् ।
ढलान गर्न तयारी अवस्थामा राखेको डण्डी र बेस डोजर लगाएर खोलामा खसालिएको छ । नगर प्रमुखले निर्माण कम्पनी, जिल्ला समन्वय समिति वा भौतिक पूर्वाधार कार्यालय कोहीसँग पनि समन्वय वा त्यसबारे जानकारी नगराई आफैले डोजर लगेर भत्काइदिँदा पुल निर्माण कार्य नै अलपत्र परेको भण्डारी थोटुङ/श्यामबाबु जेभी कम्पनीका सञ्चालक गणेश कार्कीले जानकारी दिए ।
कार्कीले भने, ‘आज ढलनको तयारीमा थियौँ, आजबाट पुल निर्माणको सबै काम सम्पन्न गरेर आगामी तीन सातामा यातायात सञ्चालन गर्न सकिन्थ्यो । तर मेयरले जंगली पारामा आफैँ आएर डोजर लगाएर सबै भत्काइदिएर गए ।’
निर्माण कम्पनीले केही गल्ती गरेको भए निर्माण रोक्न आदेश दिएको भए पनि काम रोकेर सहज तरिकाले काम गर्न दुवै पक्ष बसेर छलफल गर्न सकिनेमा छलफल, सहमति र सच्याउने बाटो नै बन्द गरेर डोजरले स्वाइलिङ लगायत सबै भत्काएर गएको उनको गुनासो छ ।
निर्माण कम्पनीतर्फ कसैलाई पनि जानकारी नगराई एकतर्फी रुपमा मेयरले जबरजस्ती गरेको र यसबाट हुन आउने १५ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति मेयरले नितिरेसम्म पुल निर्माणको बाँकी काम अगाडि नबढाउने उनले बताए ।
निर्माण कम्पनीका अर्का सञ्चालक रामकुमार कार्कीले यसको क्षतिपूर्तिको व्यवस्था नभएसम्म बाँकी काम नगर्ने बताए । स्थानीयबाट कुनै विरोध नआएको र मानिसलाई आवतजावतमा समस्या आएपछि छिटो काम सकेर सहजता ल्याउन खोजेकोमा मेयर आफैँ बाधक बनेको बताए ।
यसबारेमा नेकपा जिल्ला अध्यक्ष वचन देउजासँग समेत छलफल गरेको र यो एजेन्डालाई पार्टीको बैठकमै राखेर छलफल गर्ने वचन दिएको उनले जानकारी दिए ।
कार्कीले भने, ‘दुईपटक खोलामा बाढी आएर पुल ढलान गर्न बाँधेर राखेको फर्मा बगायो, नोक्सान व्यहोरेर पनि काम गरौँ भनेर लाग्दा अहिले मेयर आफैँले निर्माण सामग्री समेत खोलामा हाले । अब यो ठाउँमा कसरी काम गर्नु ?’
मध्यपुरथिमि क्षेत्रमा खोलाको मापदण्ड मिचेर करिडोरलाई समेत असर गरेर बनाइएका टहरावालाहरूको कुरा सुनेर मेयरले पुल भत्काएको भन्दै निर्माण कम्पनीका सञ्चालकहरूले मापदण्ड विपरीत बनेका टहरा हटाउनुपर्ने मेयर आफैँले उनीहरूको साथ दिएको गुनासो गरे ।
यता, नगरपालिकाका मेयर श्रेष्ठले भने निर्माण कम्पनीले मापदण्ड र नियम विपरीत पुल बनाएको र स्लोभ ढलान गर्न सकिनेमा त्यसो नगरी स्थानीयको विरोधका बाबजुद पनि बस्तीलाई नै जोखिम हुने गरी मापदण्ड मिचेर काम गरेपछि बेस इन्जिनियरसहितको टोलीले अनुगमन गर्दा गलत देखिएकाले भत्काइएको बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६