विराटनगर : ‘बहुतै मीठो हुन्छ दाजु ! तपाईंले खानुभएको छ ?’ मोरङ ग्रामथान गाउँपालिकाको मुसहर बस्तीमा मुसाको मासु पकाउँदै गरेका एक जनाले सोधे, ‘खानुभएको छैन होला है ! हामीलाई त मुसाकै मासु मन पर्छ ।’
प्रष्टसँग नेपाली बोल्ने युवाहरू विराटनगर महानगरपालिकासँग जोडिएको गाउँपालिका ग्रामथानमा मुसाको मासु पकाएर खाने तरखर गर्दै थिए ।
नजिकैको कारखानामा काम गर्ने चार युवाले कारखानामै मुसा फेला पारेका थिए । दिउँसोलाई खानासँगको तरकारी बनाउने लक्ष्यका साथ आँगनको चुलोमा मुसाको मासु पकाएर खानयोग्य बनाए । उनले बडो मीठो मानीमानी मुसाको मासु र खाना खाए ।
स–सानो पराले झुप्रो घर, घरको छानोमा फट्टफुट्ट फलेको फर्सी । ग्रामथानकै पिँडारबनीको मुसहर बस्तीका प्रायः हरेक घरमा यस्तै दृश्य देखिन्थ्यो । कच्ची सडकको एकातर्फ मुसहर बस्ती, बस्तीको छेउछाउ काटिएको गहुँको टुँडो । गहुँ काटेर फुर्सदिला बनेका मुसहर बस्तीमा सबैको ध्यान मुसा र मुसाको दुलोमै केन्द्रित हुन्थ्यो ।
दिउँसो १२ बजे बजिसकेको थियो । हरिराम ऋषिजन (मुसहर) हातमा कोदालो, गोबरको गुइँठा र अलिकति पराल लिएर खेततर्फ लागे । उनलाई सघाउन श्रीमती शान्तिदेवी पछिपछि लागिन् । पंक्तिकार पनि लाग्यो उनीहरूकै पछि ।
खेतको आलीआली हुँदै केहीबेर हिँडेपछि मुसाको गुँड पत्ता लाग्यो । हरिरामले भने, ‘मालिक, यो माटो छ नि (आलो माटो), यहीँबाट पत्ता लाग्छ, यहाँ मुसा छ ।’
उनले वरपर भएका स–साना सहायक दुलाहरूलाई मज्जाले माटोले टाले । मुख्य दुलोको मुखलाई फराकिलो बनाए । फराकिलो बनेको दुलोमा परालले मज्जाले खाँदखुँद पारे । पराललाई वरिपरिबाट काँचो माटोले टालटुले गरे । टालेको ठाउँको बीचमा गोबरको गुइँठा राखे । अनि त्यसमा सलाई कोर्दै आगो सल्काए ।
धुवाँ बढ्दै गयो, मुसहर दम्पत्ति मुखले जोड जोडले धुवाँलाई फुँक्दै गए । स्थानीय भाषामा तोपा लगाउने कार्यलाई उनीहरूले निरन्तरता दिए । उनीहरूले लगाएको आगोबाट निस्किएको धुवाँ दुलोभित्र फैलँदै गयो । हरिरामले भने, ‘यही धुवाँले भुर (दुलो) मा भएको मुसा मर्छ ।’
अल्पसंख्यक गरिब महुसरहरू अहिले पनि छाक टार्न मुसा मार्छन् र मुसालाई मीठो परिकारको रूपमा सम्झन्छन् । पूर्वी मोरङमा माटोको काम गर्ने मुसहर जाति मुख्य आहाराका रूपमा मुसाको मासु खाने गर्छन् । गरिबी, अशिक्षामा जेलिएको मुसहर जातिको पहिचान कठोर मेहनत हो । उनीहरू जति मेहनत गर्छन्, त्यति नै ‘रहिस’ जीवन बिताउने गर्छन् ।
करिब दुई घण्टाको मेहनतपछि हरिरामले थुनिएको मुसाको दुलोलाई खनेर भत्काउँदै गए । कुनै दुलामा मुसाले जम्मा गरेको धान, गहुँ लगायतका अन्न थिए । हरिरामकी पत्नी दुलोमा भेटिएको अन्न सोहोर्न थालिन् । दुइटा दुलोमा ६ वटा मुसा मरेको अवस्थामा फेला परे । तोपा लगाएका कारण निस्सासिएर मरेका मुसा पाएपछि उनीहरूको मेहनतले सार्थकता पाएको थियो । उनीहरू दुवै मरेको मुसा र केही अन्न लिएर घरतर्फ फर्किए ।
मुसहर बस्तीकै एक घरमा पुग्दा परिवारका एक सदस्य घरेलु मदिराको स्वादमा रमाइरहेका थिए । उनीहरूलाई हामीले मुसा मार्ने कला र मुसाको मासुको विषयमा कुरा गर्नासाथ मासुको स्वादको पं्रशसा गरे । अनि भने, ‘यो त सबले खान जानिसक्यो मालिक । आजकाल सबले मुसा खान्छ ।’
मुसहर जातिका वृद्धवृद्धा, जवान मात्र होइन, बालबच्चा पनि मुसाको सिकार गर्न खप्पिस हुन्छन् । खुला खेतको आलीहरूमा बासस्थान बनाउने मुसाले किसानलाई समेत उत्तिकै दुःख दिएको हुन्छ । खेतको आलीमा दुलो बनाएर बर्खायामसम्म बसोबास गर्ने मुसाले लामो समयसम्मका लागि आहार सञ्चित गरेर राखेको हुन्छ ।
विशेष गरी सुख्खायाम सुरु हुनासाथ धानखेतमा मुसाको चकचकी सुरु हुन्छ । हजारौँको संख्यामा मुसाहरूले आफ्नो बासस्थान परिर्वतन गर्छन् र खेतमा दुलो बनाएर बस्छन् । खेतको आलीमा मुसाहरूले गुँड बनाउने, बच्चा पाउने र लामो समयसम्मका लागि आहार सञ्चित गर्ने गर्दछन् ।
मुसा यति चलाख हुन्छ कि, उसको असली बासस्थान कहाँ हो, भेउ पाउन समेत गाह्रो हुन्छ । बिरालो, सर्प, चिल जस्ता जन्तुबाट सुरक्षित हुन मुसाले जमिनमुनि बनाएको दुलो सयौको संख्यामा हुन्छ । वर्षायामको असारसम्मका लागि खेतमै लुकेर बस्ने मुसाका लागि धान पाकेसँगै किसानले लगाउने गहुँ आहार बन्छ ।
अहिले मुसहर जाति मात्र होइन, तराईमा बसोबास गर्ने थारु, बाँतर, राजवंशीहरू पनि मुसाको मासु खान थालेका छन् । मुसाको मासुको स्वाद अन्य मासुको तुलनामा मीठो हुने भएकाले खान थालेको किसन मसुहरको भनाइ छ । मुसाको खोजी गर्नु र मार्नु, एक प्रकारको रोमाञ्चकता, सँगसँगै लामो मेहनत र मेहनतपछिको उपलब्धि हो । मुसा जालमा परे पनि वा नपरे पनि उनीहरूमा निरासा हुन्न, किनभने त्यो उनीहरूको दिनचर्या हो ।
विशेष गरी मुसहर जाति नेपालको तराई भू–भागमा बस्ने गर्छन् । नेपालको अलावा भारतको बिहार, युपी लगायत विभिन्न स्थानमा समेत मुसहरको प्रमुख बसोबास छ । सीमान्तकृत समुदायको रूपमा रहेका मुसहरहरूको आर्थिक, राजनीतिक र सामाजिक हैसियत भने कमजोर छ । पछिल्लो तथ्यांक अनुसार यो जातिको साक्षरता प्रतिशत पनि निकै तल छ । एक तंथ्याक अनुसार मुसहरको कुल जनसंख्या एक लाख ७२ हजार चार सय चौँतीस छ । जसमध्ये ६ दशमलव ९ प्रतिशत मात्र साक्षर छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६