युरोपमा फुटबल लोकप्रिय छ । त्यसैले विश्वकप फुटबल पछि युरोकपको रौनक विश्वभरि नै लाग्छ । आगामी महिनाबाट कोपा अमेरिका कप फुटबल सुरु हुँदै छ । तर अहिलेसम्म त्यसको चर्चा गरेको हामी सुन्दैनौं । तर अर्को वर्ष हुने युरोकपको प्रतीक्षा सुरु भइसकेको छ ।
यस्तै क्लब फुटबल प्रतियोगितामा पनि युरोप पहिलो नम्बरमा आउँछ । यूईएफए च्याम्पियन्स लिग युरोपको पहिलो र युरोपा लिग दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता हुन् । जसको चर्चा संसारभर हुने गर्छ ।
युरोपमा क्लब फुटबलको सुरुवात लामो समयअघि नै भएकाले पनि स्थापित छ । यतिबेला युरोपका प्रभावशाली क्लबहरूको चर्चा गर्दा बार्सिनोला, रियल म्याड्रिड, बायर्न म्युनिख, पीएसी, युभेन्टसजस्ता क्लबहरूको नाम अगाडि आउँछ ।
तर क्लब फुटबललाई हेर्ने हो भने इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग संसारकै सबैभन्दा चर्चित र बढी हेरिने लिगमा पर्छ । प्रिमियर लिगमा उपाधि रक्षा निकै कठिन बन्छ ।
नयाँ र माथिल्लो लिगमा बढुवा भएका क्लबले नै सनसनी मच्चाउन सक्छन् । जारी सिजनमा वल्भरह्याम्प्टनले सबैजसो शीर्ष क्लबलाई हरायो र बराबरीमा रोक्यो ।
उपाधिका लागि म्यान्चेस्टर सिटी र लिभरपुलबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । युरोपको सबैभन्दा ठूलो लिगका रुपमा इंग्लिस प्रिमियर लिगलाई लिइए पनि युरोपेली क्लब फुटबलमा भने इंग्लिस क्लबहरू निरन्तर असफल हुँदै आएका थिए ।
सन् २०११/१२ अन्तिम पटक चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने गत सिजन म्यान्चेस्टर युनाइटेडले युरोपा लिगको उपाधि जितेको थियो । कुनै समय प्रभावशाली रहेका इंग्लिस क्लबहरू युरोपेली क्लब फुटबलमा भने प्रभावकारी बन्न सकेका थिएनन् ।
तर जारी सिजनमा भने युरोपेली फुटबलमा इंग्लिस क्लबले जादूमयी प्रदर्शन गरे ।
युरोपेली फुटबलको इतिहासमा पहिलो पटक एकै सिजनमा चार वटा इंग्लिस टिम च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलमा पुगेका छन् ।
युइएफए च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र टोटनह्याम हट्सपर पुगेका छन् भने चेल्सी र आर्सनल युरोपा लिगको उपाधीका लागि भिड्ने भएका छन् ।
लिभरपुलले स्पेनिस क्लब बार्सिलोनालाई हराएर तथा टोटनह्यामले डच क्लब आयाक्सलाई हराएर फाइनलमा स्थान बनाएका हुन् । दुवै टिम सेमिफाइनलका पहिलो लेगको खेलमा पराजित भएर पनि दोस्रो लेगको खेलमा उत्कृष्ट पुनरागमन गरेर फाइनल यात्रा तय गरेका हुन् ।
लिभरपुलविरुद्ध बार्सिलोनाले पहिलो लेगमा ३–० को जित निकाले पनि दोस्रो लेगमा लिभरपुल ४–० ले विजयी भयो । यो जित निकाल्दा लिभरपुल आफ्ना स्टार खेलाडी मोहमद सालाहा र रोबर्टो फिर्मिनोबिनै मैदान उत्रिएको थियो ।
टोटनह्याम हट्सपर पनि पहिलो लेगको खेलमा १–० ले पराजित भएको थियो भने दोस्रो लेगको खेलमा पनि २–० ले पछि परिसकेको थियो । तर ब्राजिलियन लुकास मोउराले दोस्रो लेगको दोस्रो हाफमा ह्याट्रिक गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्यो ।
यो निकै अविश्वसनीय घटना थियो । यसले फुटबलमा ९० मिनेटभित्र जे पनि हुनसक्छ भन्ने यथार्थलाई पुनः स्मरण गराएको छ ।
यस्तै इंग्लिस क्लब चेल्सी जारी सिजनमा युरोपा लिग अन्तर्गतका कुनै पनि खेलमा पराजय नभोगी फाइनलमा पुगेको छ । उसले अब घरेलु प्रतिद्वन्द्वी आर्सनलसँग उपाधिका लागि भिडन्त गर्ने छ ।
युरोपा लिगमा चेल्सीले जर्मन क्लब आइनट्राच्ट फ्रयांकफर्ट र आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई हराएका हुन् । सेमिफाइनलको दोस्रो लेगको खेलमा चेल्सीले फ्रयांकफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल यात्रा तय ग¥यो ।
दुवै टिमले पहिलो र दोस्रो लिगको खेलमा समान १–१ गोलको बराबरी खेलेपछि भएको टाइब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो ।
आर्सनलले भ्यालेन्सियालाई पहिलो लेगमा ३–१ र दोस्रो लेगको खेलमा ४–२ गोल गरी समग्रमा ७–३ गोलअन्तरले हरायो । युरोपेली क्लब फुटबलमा इंग्लिस क्लबले पुनः एक पटक दबदबा सिर्जना गरेका छन् ।
च्याम्पियन्स लिगको फाइनल जुन १ मा स्पेनको मड्रिडमा हुनेछ भने युरोपा लिगको फाइनल मे ३० तारिखमा अजरबैजानको राजधानी बाकुमा हुने छ । जसबाट दुई इंग्लिस क्लब विजेता र दुई क्लब उपविजेता बन्ने छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६