सोसल मिडियामा खेदो खनिनु कलाकार, नेता र सेलिब्रेटीहरूका लागि कुनै नयाँ कुरा होइन । हरेक दिन कोही न कोही सोसल मिडियामा तारो बनिरहेका हुन्छन् । सोसल मिडियाको युगमा दर्शकबाट प्रतिक्रिया तुरुन्त आउने गर्छ । माया र घृणा दुवै भरिएर आउने यस्ता ‘प्रतिक्रिया’हरू कुनै ‘ट्रोल’ बन्छन् कुनै ‘प्रशंसा’ । ‘ट्रोल’ कलाकारहरूका लागि टाउको दुखाइको विषय हुन् । हुन त सामाजिक सञ्जालले सेलिब्रेटी र फ्यानहरूबीचको दूरी धेरै घटाएको छ । तर यो माध्यम एउटा थलो बन्दै छ, आफूभित्र भएको घृणा ‘ट्रोल’को रूपमा उजागर गर्ने ।
गत हप्ता संयुक्त राज्य अमेरिकामा आयोजित फेसन पर्व ‘मेट गाला’ मा कलाकारहरूले लगाएको ड्रेसको धेरै नै चर्चा भयो । तर सबैभन्दा चर्चाको केन्द्र बनिन् भारतीय अभिनेत्री तथा गायिका प्रियंका चोपडा । आफ्ना गायक पति निक जोन्ससँग उक्त कार्यक्रममा आएकी चोपडाले गुलाबी गाउन, ठाडो र कर्ली कपाल र कपालमाथि चाँदीको ताज पहिरिएकी थिइन् । उक्त ड्रेसभन्दा पनि कपालको चर्चा र खेदो खनाइ धेरै भयो । सोसल मिडिया साइटहरू ट्विटर, फेसबुक र रेड्डिटमा अनेकौ ‘मेमे’हरू बने । प्रियंकाको कपालको तुलना ‘चालबाज’ फिल्ममा श्रीदेवीले आफ्नी आन्टीलाई गरिदिएको मेकअपदेखि लिएर कमेडियन मसुर गुलाटीको कपालसम्म भयो ।
नश्ल आतंकवादी विरप्पनको जुँगासँग भएको तुलनाले पनि इन्टरनेट ततायो ।
प्रसिद्ध श्रीलंकाली क्रिकेटर लासिथ मालिङ्गासँग पनि प्रियंकाको कपालको तुलना भयो ।
प्रियंकाकी आमा मधु चोपडाले भने आफ्नी छोरीको ‘प्रयोगात्मक’ ड्रेसको खुबै तारिफ गरिन् । ‘स्क्रिनमा उसको फोटो देखेँ । राम्रो लाग्यो, अगाडि भइदिएकी भए झ्याम्म अंगालो हाल्थेँ’, उनले भनिन् ।
हुन त उक्त कार्यक्रमको ‘थिम’ सँग प्रियंकाको ड्रेस मिलेको थियो । डिजाइनर वेन्डल रोड्रिक्सका अनुसार प्रियंकाको ड्रेस एकदमै ‘थिम’ सुहाँउदो थियो । करिब ४५ लाख खर्च भएको उक्त ड्रेस र २० लाखको हिराको ‘टप’ले प्रियंकालाई फेरि एकपटक चर्चामा ल्यायो ।
‘अप्राकृतिक र अतिरञ्जित’ विषयवस्तु भएको ‘मेट गाला’मा अरू कलाकारहरूको प्रस्तुति झनै अनुपम र चर्चायोग्य थियो । गायिका केटी पेरीले पहिरिएको ड्रेस चर्चा कमाउने अर्को ड्रेस बन्यो भने सबैभन्दा तारिफ कमाउनेमा लेडी गागा र कार्डी बी परे ।
हरेक वर्ष न्युओर्कमा हुने ‘मेट गाला’ विभिन्न उद्देश्यका लागि आयोजना हुने गर्छ । ‘मेट्रोपोलिटियन म्युजियम अफ आर्ट’ का लागि ‘कोष’ उठाउने यसको प्रमुख उद्देश्य हो ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६