भोजपुर : भोजपुर सदरमुकाम र आसपासका स्थानीयबासी धाराबाट आउने खानेपानीमा ‘पालो सिस्टम’ लागू भएपछि समस्यामा परेका छन् । सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिले पानीको समस्या भएको भन्दै सदरमुकाममा हाल पालैपालो गरेर उपभोक्तालाई पानी दिइरहेको छ । समितिले एक समय मात्र पानी दिने हुँदा सबैभन्दा बढी मारमा होटल व्यवसायी परेका छन् ।
सदरमुकाममा खानेपानीको समस्या भइरहेका बेला यता वर्षौंदेखि पिउने पानीको समस्या भोग्दै आएका भोजपुर नगरपालिका–४ सिद्धेश्वरका स्थानीय भने अहिले घरमै बनेको धाराबाट पानी धरर्र झरेपछि खुसी छन् ।
खानेपानी आयोजनामार्फत् गाउँमा नै पानी आएपछि सिद्धेश्वरबासीमा खुसी छाएको स्थानीय कविता खड्का बताउँछिन् । उनका अनुसार यो गाउँका मानिसले पानी बोक्ने समय बचेपछि त्यो समय खेतीपातीमा लगाएका छन् । उनी भन्छिन्, ‘गाउँमा पानी आएपछि स्थानीयले नगदेबाली उत्पादनमा ध्यान दिन पाएका छन् ।’
यहाँका स्थानीयले वर्षौंदेखि पानीको समस्या भोग्दै आएका थिए । पानीको जोहो गर्नका लागि उनीहरूलाई निकै समस्या थियो । स्थानीयको एकै स्वर छ, ‘हामीलाई खानेपानीको जोहो गर्न नै समस्या थियो, तर अब भने सहज भएको छ ।’
तत्कालीन जिल्ला विकास समिति र शहरी विकास मन्त्रालयको सहयोगमा खानेपानी योजनाको काम सम्पन्न भएर घरमा नै पिउने पानी आएपछि गाउँबासीमा खुसियाली छाएको हो । पानी आएपछि अहिले स्थानीयको जीवनशैली समेत फेरिएको छ भने खेर गएको पानीको उपभोग गरेर उनीहरूले तरकारी खेती समेत सुरु गरेका छन् ।
स्थानीय दानबहादुर खड्काका अनुसार तीन वर्षको प्रयासपछि गाउँमा खानेपानीको व्यवस्था गरिएको
हो । अहिले स्यालखेत खानेपानी मुहान र गोठेचौर खानेपानी मुहानबाट पानी ल्याएर स्थानीयलाई वितरण गरिएको छ । दुइटा खानेपानी आयोजनाका लागि करिब ५४ लाख रुपैयाँ खर्च भएको निर्माण समितिले जनाएको छ ।
पानीको निकै समस्यामा परेका गाउँका ५२ घरपरिवारले पानीको उपभोग गर्दै आएका छन् । खानेपानीको योजना सम्पन्न भएसगै पानीको समस्या समाधान भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खड्का बताउँछन । पानी आएसँगै स्थानीयले सहज अनुभव गरेका छन् भने स्थानीयलाई सरसफाइसँगै नगदेबाली लगाउन समेत सहज भएको छ ।
योजनामार्फत पानी आएपछि गाउँबासीमा खुसियाली आएको वडाध्यक्ष प्रेम भण्डारी बताउँछन् । पानीको समस्या भएको वडामा आयोजनामार्फत घरघरमा धारो आएपछि वडा पनि खानेपानीका लागि समृद्ध भएको वडाध्यक्षले जनाए ।
भोजपुरमा भएका प्राकृतिक धारा तथा कुवाहरू पनि पछिल्लो समय सुक्दै गएका छन् भने पानीका कारण विस्थापित हुनेहरूको संख्या पनि बढ्दै जान थालेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६