सिन्धुली : समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइने विजयोत्सव असोज १५ गते गर्ने भएको छ । अंग्रेजमाथि गोर्खाली सेनाले विजय प्राप्त गरेको दिन भनेर यसअघि हरेक वर्ष कात्तिक २४ गते विजयोत्सव मनाइँदै आएको थियो ।
इतिहासकारहरूसँगको छलफलपछि अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन विजयोत्सव मनाउन लागिएको अभियन्ता सौरभ ढकालले बताए ।
इतिहासकार प्रा. दिनेशराज पन्तले भारतमा शासन गरिरहेको तत्कालीन इष्ट इन्डिया कम्पनी (ब्रिटिस सेना)लाई सिन्धुलीगढीमा असोज १५ गते परास्त गरेको प्रामाणिक इतिहास रहेको बताए । कात्तिक २४ गते विजयोत्सव मनाउनु इतिहासलाई बंग्याउनु हो , उनले भने, काम गर्दा मानवीय त्रुटि हुनसक्छ । त्यसलाई नसच्याउनु कमजोरी हुन्छ । अबको विजयोत्सव असोज १५ मा नै मनाउनुपर्छ ।
समृद्ध सिन्धुली अभियानका अभियन्ता दीपक श्रेष्ठले मितिमा प्रष्टता नभएका बेला स्थानीय स्तरमा कात्तिक २४ गते विजयोत्सव मनाउन थालिएको बताउँदै अब सच्याउँदै जाने बताए । हामीले विजय दिवस असोज १५ मा नै मान्ने निर्णय गरेका छौँ , उनले भने ।
यसैबीच समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्डसँग मिलेर गरेको साताव्यापी तस्बीर प्रदर्शनी फोटो सिन्धुली समापन भएको छ ।
नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल’ शृङ्खलाअन्तर्गत आयोजित ‘फोटो सिन्धुली’ प्रदर्शनीको अन्तिम दिनमा ‘भविष्यमा सिन्धुली’ विषयक छलफल चलाइएको थियो । सामाजिक उद्यमी अनिल चित्रकारले हरेक ठाउँ सधैँ पछि नपर्ने बताउँदै ती ठाउँमा निहित वास्तविक कथाको पहिचान गरी त्यसको प्रचार प्रसार गर्न सक्दा लुम्बिनी, कर्णाली, पाटन, बन्दीपुरलगायतका ठाउँहरू विकसित हुँदै गइरहेको उल्लेख गरे । सिन्धुलीको विकास गर्न सबैको भूमिका रहने उनले बताए ।
कार्यक्रममा डा. रेवतीमान श्रेष्ठले समृद्ध सिन्धुली बनाउनुपर्छ भन्ने काम आफैँले सुरु गरेको सम्झना गर्दै समृद्ध सिन्धुली अभियानमार्फत् उक्त कार्यको निरन्तरता हुँदा समृद्धिको फड्को चाँडो हुने उल्लेख गरे । त्यसैगरी कार्यक्रममा समाजसेवी गोविन्द गजुरेलले युवाहरूको जोशमा पाकाका होश र अनुभवहरू मिश्रित गर्न सक्दा अधिकतम् उपलब्धि हासिल गर्न सकिने बताए ।
उक्त कार्यक्रममा सिन्धुलीका विभिन्न स्थलका फोटो उपलब्ध गराउनुहुने सम्पूर्ण फोटोग्राफरहरू र स्वयंसेवकहरूलाई प्रमाणपत्रसहित धन्यवाद दिइएको थियो।
फोटो सिन्धुली घुम्ती प्रदर्शनी
काठमाडौंको प्रदर्शनीलगत्तै जेठको तेस्रो साताबाट फोटो सिन्धुलीको घुम्ती प्रदर्शनी सुरु गरिनेछ । हरिहरपुरगढी गाउँपालिका र मरिन गाउँपालिकाबाट यसको सुरुवात गरिने फोटो सिन्धुलीका संयोजक दीपक श्रेष्ठले बताएका छन् । प्रदर्शनीमा पुरातत्त्व विभाग, डा. रेवतीरमण श्रेष्ठ, गणेश भण्डारी, सौरभ ढकाल, दीपक श्रेष्ठ, अङ्गद ढकाल, किरण श्रेष्ठ, अनन्त बानियाँ, ताराप्रकाश श्रेष्ठ, राज श्रेष्ठ, द मोन्टाज, ट्राभलफिट नेपालद्वारा खिचिएका आदिलिंग कुशेश्वर महादेव, सिन्धुलीगढी, सिन्धुलीगढी दरबार, हरिहरपुरगढी, मरिणको पञ्चकन्या पोखरी, घुमाउने चैनपुरको मालेपाटी, पदयात्रा, जलयात्रा, साइकलयात्रा, जनजीवनका ३५ बढी तस्वीर राखिनेछ ।
राइड थ्रु सिन्धुलीगढी, २०१९
यसैगरी अभियानले यस वर्ष गर्ने राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा नोभेम्बर २२ देखि २५ सम्म चार दिन गर्ने भएको छ । पशुपतिनाथ परिसरबाट सुरु भएर मधेसको सांस्कृतिक शहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ ।
साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, प्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रवर्द्धनमा सघाउनेछ । यस वर्ष साइकल यात्रामा २०० जना यात्रीलाई सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ । यात्राका क्रममा सिन्धुलीको मूलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सवसमेत हुनेछ ।
काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोसी गाउँपालिकाको मूलकोटमा बास बस्नेछन् । त्यहाँबाट अर्को दिन सिन्धुलीगढीमा बास बसेर यात्री जनकपुर पुग्नेछन् । जनकपुरमा जानकी मन्दिर दर्शन गराएर साइकल यात्रीलाई बसमा काठमाडौं फर्काइनेछ ।
यसअघि ‘राइड टु सिन्धुलीगढी’ भनेर गरिँदै आएको साइकल यात्रालाई जनकपुरसम्म विस्तार गरिएकाले राइड थ्रु सिन्धुलीगढी नाममा ब्रान्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई यात्रामा सहभागी गराउने योजना रहेको साइकल यात्राका संयोजक दीपिका ज्ञवालीले बताइन् ।
एकीकरण पदमार्ग
नेपाल एकीकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने भएको छ । अभियानले काभ्रेको नमोबुद्धबाट ऐतिहासिक सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म र अर्को ऐतिहासिक स्थल हरिहरपुरगढी र सिन्धुलीगढीलाई पदमार्गले जोड्न लागेको बताएको छ ।
अभियानले गत वर्ष नमोबुद्धदेखि सिन्धुलीगढी हुँदै फिक्कलसम्मको पदमार्ग अध्ययन गरेको थियो । यस वर्ष हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म अध्ययन गरिएको र पदमार्ग निर्माणको कामसमेत थालेको छ । हरिहरपुरगढीको घण्टेबाट दैनिक ५० जना स्थानीय कामदारले पैदलमार्ग निर्माणको काम गरिरहेका छन् । उक्त टोलीलाई सघाउन नेपाली सेनाको सिन्धुलीस्थित बर्दबहादुर गणबाट समेत एउटा टुकडी खटिएको अभियानका संयोजक तथा पदमार्ग निर्माण समितिका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए ।
हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको मुख्य पदमार्ग, सहायक मार्ग, चक्रीय मार्ग, घरबास (होमस्टे) गर्ने ठाउँ, खाना खाने ठाउँ, हेर्नलायकका स्थलहरू, जातजाति, तिनका संस्कृति, मेलापर्व, ऐतिहासिक स्थलहरूको अध्ययन सकिएको र आवश्यक पूर्वाधार निर्माणमा स्थानीय सरकारहरूसँग सहकार्य गरेर आठ महिनामा नै यो पदमार्ग संचालन गर्ने लक्ष्य लिइएको छ । अभियानले आगामी पुस २६ देखि यो पदमार्गमा यात्रा गराउन सकिने बताएको छ ।
नेपाल सरकारले भिजिट नेपाल, २०२० लाई लक्षित गर्दै घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी, सुनकोसीमा जलपर्यटन र महाभारत पर्वत शृङ्खलामा पदमार्ग विशेष रहेको छ । यी तीनवटै गन्तव्य सिन्धुलीमा छन्, जसको विकासले सिन्धुलीले लाभ लिन सक्ने र पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन कार्य सँगसँगै लैजानु आवश्यक भएको घिमिरेले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६