सिन्धुली : सिन्धुलीका केही युवाले आफ्नो जिल्लाको विकासमा योगदान दिन स्थापना गरेको समृद्ध सिन्धुली अभियानले नेपाल एकीकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने भएको छ ।
अभियानले काभ्रेको नमोबुद्धबाट ऐतिहासिक सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म र अर्को ऐतिहासिक स्थल हरिहरपुरगढी र सिन्धुलीगढीलाई पदमार्गले जोड्न लागेको राजधानीमा आयोजित कार्यक्रममा अभियन्ताहरूले जानकारी दिए । अभियानले गत वर्ष नमोबुद्धदेखि सिन्धुलीगढी हुँदै फिक्कलसम्मको पदमार्ग अध्ययन गरेको थियो । यस वर्ष हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म अध्ययन गरिएको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।
अभियानले पर्यटन बोर्डसँगको सहकार्यमा राजधानीमा सिन्धुलीका सबै स्थानीय तहका पर्यटकीय, सांस्कृति, धार्मिक स्थलहरू, विभिन्न जातजाति, तिनका वेशभूषा र संस्कृतिलाई समेटेर तस्बिर प्रदर्शनी गरिरहेको छ । त्यसै अवसरमा पर्यटन बोर्डमा आयोजिक कार्यक्रममा अभियानका संयोजक घिमिरेले पदमार्ग अध्ययनको निष्कर्ष सरोकारवाला सामु प्रस्तुत गर्दै तत्कालीन गोर्खाली सेनाले नेपाल एकीकरण क्रममा हिँडेको बाटोलाई पर्यटकीय पदमार्ग बनाउन अभियानले काम थालेको बताए । चौधौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । त्यही समयमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । यी दुई स्थल पदमार्गले जोड्न सकिने आफ्नो अध्ययनले देखाएको घिमिरेले बताए ।
अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढी हुँदै जनकपुरसम्म हरेक वर्ष साइकल यात्रा गर्दै आएको छ । सन् २०१६ मा सुरु गरिएको साइकल यात्रा तेस्रो वर्ष पूरा भएको छ । साइकल यात्रामार्फत ऐतिहासिक सिन्धुलीगढीको प्रवद्र्धन गर्न अभियानले व्यासाययिक यात्रा गराउन थालेको हो । सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको दुई सय ५० वर्ष पुगेको अवसरमा गत वर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकलयात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ र सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेका थिए ।
अभियानले ऐतिहासिक हरिहरपुरगढीदेखि सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामसमेत थालेको छ । हरिहरपुरगढीको घण्टेबाट दैनिक ५० जना स्थानीय कामदारले पैदलमार्ग निर्माणको काम गरिरेहेका छन् । उक्त टोलीलाई सघाउन नेपाली सेनाको सिन्धुलीस्थित बर्दबहादुर गणबाटसमेत एउटा टुकडी बुधबारदेखि खटिने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६