काठमाडाैं : वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले भर्खरै मात्र काठमाडौं प्रहरी परिसर प्रमुखको जिम्मेवारी सम्हालेका छन् । यसअघि केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका सुवेदीले काठमाडौं प्रमुखको जिम्मेवारी पाएका हुन् । उनले नयाँ जिम्मेवारी पाएसँगै आजको न्युजलाई आगामी योजना यसरी सुनाए, उनकै शब्दमा :
प्रहरीको पहिलो दायित्व हुन्छ– आफ्नो जिम्मेवारी क्षेत्रभित्र भएका समस्या समाधानका लागि क्रियाकलाप अघि बढाउने । राजधानी भएकाले यहाँ धेरै किसिमका जटिलताहरू छन् तर यस्ता थुप्रै जटिलता हुँदाहुँदै पनि यहाँभित्र रहेका समस्याहरूलाई चिर्नु प्रमुख दायित्व हुन्छ ।
मैले टोले गुण्डा भन्ने गरेको छु । यिनीहरूमा गाउँ, टोल, बस्तीमा दुई–चार जना भेला भएर कसैलाई धम्की दिने गलत प्रवृत्ति छ । पछिल्लो समय यो समस्याको रूपमा देखापरेको छ । यिनीहरू सल्बलाइरहेका छन् ।
भोलि गएर यी संगठित भए भने चुनौती हुन सक्छ । त्यो चुनौती हुन नपाउँदै भरसक सम्झाइ बुझाइ गर्ने । उनीहरूका अभिभावक माझ जानकारी गराउने, अभिभावकसँग अन्तक्र्रिया गर्ने । त्यति गर्दा पनि सुध्रिएनन् भने कानुनी दायरामा ल्याएर त्यस्ता प्रवृत्तिको न्यूनीकरण गर्ने ।
पेसेवर केही अपराधी प्रहरीसँगको दोहोरो भिडन्तमा मारिए । केही कानुनको दायरामा आएका छन् । केही पेसा परिवर्तन गरेर सुषुप्त अवस्थामा बसेका छन् । त्यस्ताको निगरानी त गरिन्छ तर अहिले कसैले टाउको उठाउन पाएका छैनन् । कुनै पनि सर्वसाधारण जनता, व्यापारीलगायतलाई दुःख दिनेलाई शून्य सहनशीलताको सिद्धान्त अपनाउँछौँ ।
पछिल्लो समय संगठित गुण्डागर्दी भन्दा पनि सामाजिक विकृति नै बढी देखिएको छ । सामाजिक विकृतिका कारण सिर्जित अपराध बढ्दै गएको छ । यसको समाधानका लागि हामीले पहिलेदेखि कार्यक्रम गर्दै आएका छौँ । अझ ती कार्यक्रमलाई प्रभावकारी ढंगबाट अघि बढाउने । त्यस्ता घटना न्यूनीकरणमा जोड दिने ।
सामाजिक विकृतिअन्तर्गत सामाजिक सञ्जालको दुरूपयोग, मादक पदार्थको दुर्व्यसनी, लागुपदार्थको दुर्व्यसन जस्ता कुराहरू पर्छन् । यस्ता कुराहरूबाट युवाहरूलाई बचाउने । जनतचेतना तथा कानुनी कारबाही दुवैलाई सँगसँगै अघि बढाउने । ती अपराधको तथ्यांकलाई न्यूनीकरण गर्नु एउटा अभियानको रूपमा रहनेछ ।
त्यस्तै, सार्वजनिक यातायातमा महिला, जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार न्यूनीकरण गर्न विशेष अभियान चलाइन्छ साथै यस क्षेत्रमा विगतमा भएका अभियानहरूलाई निरन्तरता दिने ।
काठमाडौंमा अर्को समस्याको रूपमा देखिएको छ आर्थिक अपराध, जसअन्तर्गत एउटा लेनदेनवाला आर्थिक अपराध, अर्को ठगीका घटना । लेनदेनवाला अपराधमा सचेतनामूलक कार्यकमबाहेक अरू उपाय छैन । उता, ठगीका घटनामा चाहिँ सशक्त रूपमा कानुनको दायरा ल्याएर कारबाही गछौँ ।
त्यस्तै, जनचेतना कार्यक्रम, विद्यालय लक्षित कार्यक्रमलाई निरन्तरता दिने । बालबालिका, युवाहरू गलत बाटोमा जाने जुन जोखिम हुन्छ, त्यस्ता जोखिम न्यूनीकरणका लागि अभिभावक, विद्यालय, समुदायसँग मिलेर जुन अभियान सञ्चालनमा ल्यााएका छौँ, त्यसलाई अझै प्रभाकारी बनाउनेछौँ ।
अर्को महत्त्वपूर्ण पाटो भनेको प्रहरी कार्यालमा सेवा लिन आउने सेवाग्राहीलाई सम्बोधन गर्ने जुन पक्रिया छ, त्यसलाई उच्च प्राथमिकता दिएर अघि बढ्ने । हामीकहाँ समस्या सम्बोधन भएन भन्ने कतिपय गुनासा पनि आउने गरेका छन् । त्यस्ता गुनासा नआउने किसिमले सेवाग्राहीमैत्री वातावरण बनाउने अभियानमा छौँ ।
कतिपय स्थानमा हामीलाई भौतिक संरचनाले साथ दिएको छैन । त्यस्तो ठाउँमा सोचेअनुसार नहुन पनि सक्छ । तर भौतिक संरचना भएका ठाउँमा तत्कालै सुरु गर्ने र नभएका ठाउँमा संरचना बनाएर सेवाग्राहीमैत्री वातावरण बनाउने । प्रहरी समक्ष गएपछि सेवा सहजै पाइन्छ भन्ने वातावरण निर्माण गर्ने योजना छ ।
(आजको न्युजकर्मी कुञ्जरमणि भट्टराईसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६