काठमाडौं : तस्बिरमा देखिएको दृश्य हो काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने प्रदर्शनी मार्गको । यही सडक हुँदै दैनिक सदनदेखि सडकसम्मका मानिसहरू आवतजावत गर्छन् । यही सडकमा राष्ट्रिय सभागृह पर्छ । सभागृहसँगै नेपाल प्रहरी क्लब, प्रदर्शनी स्थल, फनपार्क, देशकै ठूलो मानिने रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, बाल्मीकि क्याम्पस, संस्कृत माद्यमिक विद्यालय लगायतका ठूलो महत्त्व बोकेका संरचनाहरू छन् । तर यति महत्वूर्ण निकाय र मानिसहरूको बढी आवतजावत हुने सडकको कहानी भने बेग्लै किसिमको छ ।
बिहानै ‘मर्निङ वाक’ गर्नेहरू हुन् वा कलेज जाने विद्यार्थी, हातले नाक थुनेर हिँडिरहेका देखिन्छन् यो सडकमा । प्रदर्शनी सडकको संस्कृत माद्यमिक विद्यालयको प्रवेशद्वारमै सधैँ फोहोरको डुंगुर (फोहोर संकलन केन्द्र) देखिन्छ । यही फोहोरको डुंगुरले बिहानै स्वच्छ हावाको मज्जा लिन सडकमा निस्केकाहरूको दैनिकी नरमाइलो बनाइदिन्छ ।
भक्तपुरकी अमृता अर्याल बिहानै त्यही बाटो आउँछिन् । तर विद्यालय अगाडिको त्यो फोहोरको डुंगुरले उनलाई जहिल्यै हैरान बनाउँछ । फोहोरको त्यो दुर्गन्धले आफ्नो दैनिकी नै वाकवाकीमै बित्ने गरेको उनी बताउँछिन् ।
संस्कृत विद्यालयमा अध्ययनरत समीर पाखरेलले फोहोरको दुर्गन्ध कक्षाकोठासम्मै आउने भएकाले पढाइ पनि प्रभावित हुने गरेको बताए । कक्षा कोठामा आउने दुर्गन्धले पढाइमा पनि ध्यान नआउने अर्का विद्यार्थी सुवास खतिवडाको भनाइ छ ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा पर्ने प्रदर्शनी मार्गको योे संकलन केन्द्र पहिलेदेखिकै हो । संस्कृत विद्यालयका प्राचार्य बद्रीप्रसाद दाहालले पटक–पटक वडा कार्यालय र महानगरपालिकालाई फोन तथा भेटेर कुरा गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । फोहोरको दुर्गन्धले विद्यालयको पठनपाठनमा समस्या भएको प्राचार्य दाहालले बताए । जनप्रतिनिधिले आजभोलि त फोन नै उठाउन छोडेको विद्यालय स्रोत बताउँछ ।
वडा नम्बर २८ का अध्यक्ष भागिराम खड्कीले फोहोर व्यवस्थापन गर्ने आफ्नो काम नभई वातावरण विभागको भएको बताए । तर सकेसम्म फोहोर व्यवस्थापन गर्न वातावरण विभागलाई घचघच्याउने काम भइरहेको जानकारी दिए ।
गोप्य स्रोतका अनुसार फोहोरमा पनि राजनीति भएको बुझिएको छ नि ? भन्ने आजको न्युजले जिज्ञासा राख्दा उनले त्यस्तो राजनीति नभएको तर अलिकति विवाद चाहिँ रहेको जनाए ।
उता फोहोरको ठेक्का पाएका ठेकेदार बिकु पुजारीले भने समयमै फोहोर उठाउने गरेको झिनो उत्तर दिए । दैनिक फोहोर उठाएको नदेखिए पनि उनले आफ्नो जिम्मेवारी भने उत्तरमा मात्र ठिक्क पारे ।
हामीलाई प्राप्त गोप्य स्रोतका अनुसार फोहोर व्यवस्थापनमा र ठेक्कापट्टामा राजनीति भएको जनाइएको छ । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार विवाद सम्बन्धी आफूलाई जानकारी नभएको बताए । तर त्यसको दिगो व्यवस्थापनका लागि आफू ‘आजैदेखि’ लाग्ने उनले जानकारी दिए । उनले त्यस संकलन केन्द्रलाई हटाउन आफू सकारात्मक भएको र भोलिदेखि नै उक्त संकलन केन्द्र हटाउने प्रतिबद्धता गरे ।
प्रदर्शनी मार्गमा भएको यो संकलन केन्द्र त एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता विभिन्न फोहोरका डुंगुरहरू काठमाडौंमा प्रशस्त छन् । कालिमाटी फलफूल तथा तरकारी बजार होस् वा कोटेश्वर चोकको फोहोरले आम जनमानसमा नराम्रो प्रभाव पारेको छ ।
मानिसको प्रत्यक्ष जीवनसँग जोडिने स्वास्थ्य सेवा पाउनु आमनागरिकको नैसर्गिक अधिकार हो । तर मुख्य सडक र विद्यालयकै गेटमा फोहोर संकलन केन्द्र बनाउनु कतिको जायज हो ? त्यो सम्बन्धित निकायलाई नै थाहा होला ।
फोहोरका कारण लाग्ने आउँ, हैजा जस्ता संक्रमित रोग फैलियो भने जनमानसलाई त हैरान पार्छ नै, देश हाँक्ने सरकारलाई नै अस्तव्यस्त पार्न सक्छ । सरकारले फोहोर व्यवस्थापन कार्यान्वन विधि सञ्चालनमा ल्याए पनि त्यति प्रभावकारी नभएको यी उदाहरणबाट प्रष्ट हुन्छ । आफ्नो घरमात्र सफा सुग्घर र घरको फोहोर ल्याएर सडकमा फ्याँक्ने कतिपयको प्रवृत्तिका कारण पनि शहर झन्झन् दुर्गन्ध भइरहेको छ । स्वच्छ शहर हामी सबैको रहर हो त्यसैले हामीले सफा र सुन्दर शहर निर्माण गर्न आफैबाट सुरु गर्न जरुरी देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६