काठमाडौं : प्रहरी परिसरले हेर्नुपर्ने चेक बाउन्ससम्बन्धी मुद्दाले अहिले प्रहरी प्रशासनकै टाउको दुखाइरहेको छ । प्रहरी अधिकारीहरूका अनुसार जनशक्ति अभावका कारण यो विषय प्रहरीको टाउको दुखाइ बन्दै गएको हो ।
काठमाडौं पहरी परिसरमा चालू आर्थिक वर्षमा मात्रै सात हजारभन्दा बढी चेक बाउन्सका मुद्दा दर्ता भएका छन् । तर जनशक्ति अभावमा हालसम्म नौ सय ४४ वटा मुद्दाको मात्र किनारा लागेकाे छ, बाँकी मुद्दा त्यत्तिकै थन्किएका छन् ।
त्यस्तै दैनिक ५०/६० चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता हुने गरेको छ भने मुद्दा हेर्ने शाखामा १० जना मात्र जनशक्ति हुँदा समस्या भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले बताए ।
चेक बाउन्समा मिलिसकेको मुद्दा समेत दोहोरिएका छन् । त्यस्तै मिलापत्र भए पनि पैसा र कागजात मिलाउने तर चेक फिर्ता नगर्दा यस्ता समस्या दोहोरिइरहेको प्रहरीले जनाएको छ ।
जनशक्ति अभावकै कारण जघन्य अपराधको अनुसन्धानमा लाग्नुपर्ने महानगरीय अपराध महाशाखासमेत चेक बाउन्स मुद्दामा व्यस्त भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार नेपालभरको चेक बाउन्सको मुद्दा काठमाडौंमै आउने गर्दा समस्या भएको हो ।
अहिले प्रहरीलाई चेक बाउन्सका मुद्दा हेर्न भ्याइनभ्याई छ । प्राथमिकताका साथ हेर्न पीडितले सोर्सफोर्स लगाउनुपर्ने अवस्था छ भने प्रहरी परिसर र वृत्तका हिरासतसमेत चेक बाउन्स मुद्दाका आरोपीले भरिभराउ छ । जनशक्ति अभावमा चेक बाउन्सका मुद्दा प्रहरीले हेर्न सक्ने अवस्था छैन । चालु आर्थिक वर्षमा परेको निवेदनका आधारमा मात्र हेर्ने हो भने ५० जना जनशक्ति आवश्यक हुने प्रहरीले जनाएको छ ।
पछिल्लो समय परिसरमा मात्र नभई काठमाडौं जिल्ला अन्तर्गतका सबै चौकीमा चेक बाउन्सको मुद्दा उत्तिकै आइरहेको प्रहरीले जनाएको छ । चेक बाउन्सका मुद्दाले ठूला मुद्दा समेत ओझेलमा पर्ने गरका छन् ।
अब भने चेक बाउन्स हेर्ने छुटै निकाय र जनशक्ति आवश्यक रहेको र उक्त मुद्दाको किनारा अदालतबाट लगाउनुपर्ने प्रहरीको भनाइ छ । अहिले बैंकिङ सजाय ऐन २०६४ अनुसार प्रहरीमा दर्ता गरे फौजदारी अन्तर्गत कार्बाही हुन्छ भने विनिमय अधिकार पत्र ऐन २०३४ अनुसार सिधै अदालतमा समेत दर्ता गर्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६