विराटनगर : शरीरमा मट्टितेल छर्किएर जिउँदै जलाएर हत्या गरिएकी सिरहा कल्याणपुर नगरपालिका–८ की १८ वर्षीया कञ्चनदेवी खत्वे मण्डलको मुख्य हत्या आरोपी अझै फरार छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतक कञ्चनकी सासू ४५ वर्षीया सुर्जी खत्वेलाई तत्काल पक्राउ गरे पनि मुख्य आरोपीलाई भने अझै पक्राउ गर्न सकेको छैन ।
वैशाख १२ गते दिउँसो घरायसी विवादका क्रममा उनका पति बेचन यादवले शरीरमा मट्टितेल छर्किएर जिउँदै जलाएका थिए । आगोले शरीरको ८० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी कञ्चनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक दिनेश गौतमले घटनाका मुख्य आरोपी बेचन मण्डलको खोजी कार्य जारी रहेको जानकारी दिए । उनले मण्डललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिँदै ढिलो चाँडो अभियुक्त पक्राउ पर्ने जनाए ।
‘हामीले खोजी कार्य जारी नै राखेका छौँ’, गौतमले भने, ‘उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग पनि सहकार्य गरेका छौँ ।’ बेचन रोजगारीको सिलसिलामा भारतको अहमावादमा काम गर्दै आएका थिए ।
यसैबीच प्रहरीले घटनामा संलग्न भएको आरोपमा पीडितकी नन्द सुनिता मण्डललाई समेत पक्राउ गरेको छ । प्रहरीका अनुसार सो घटनामा सुनिताको समेत संलग्नता रहेको देखिएको छ । पक्राउ परेका सासू सुर्जी र नन्द सुनितालाई मुलुकी संहिता अनुसार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
यता आमाको जलाएर हत्या, बुवा फरार र हजुरआमा प्रहरी हिरासतमा भएपछि कञ्चनकी दुई वर्षीया छोरीको बेहाल भएको छ । ती बच्चालाई हेरदेख गरिदिने कोही नहुँदा उनीलाई तत्काल मात्र नभएर भविष्य समेत अन्योलमा परेको छ ।
ती दुई वर्षीया बच्चालाई अहिले कसले हेरदेख गर्ने भन्ने अन्योल छ । प्रहरीका अनुसार उनीहरूको बच्चा अहिले पनि छिमेकीको संरक्षणमा छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६