विराटनगर : समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषधविरूद्धको विशेष अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा विराटनगर महानगरपालिका वडा नम्बर १६ मा सो कार्यक्रमको सुरु गरिएको हो ।
लागुऔषधविरुद्धको विशेष कार्यक्रम अन्तर्गत सिएएन भवनको विराटनगर महानगरका मेयर भीम पराजुलीले एक समारोहबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मेयर पराजुलीले लागुऔषधविरुद्धको अभियानमा सबैले उत्तिकै सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसी लगायतले देशको समृद्धिमा लाग्नुपर्ने युवाहरू लागुऔषध दुव्र्यसनीको सिकार भइरहेको उल्लेख गरे । उनीहरूले यो समस्याको समाधानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
लागुऔषधविरूद्धको विशेष अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमले समाजबाट लागुऔषध दुव्र्यसनीलाई न्यून गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विराटनगर क्षेत्रमा लागुपदार्थको समस्यालाई विकराल रुपमा हेर्ने गरिन्छ । सीमावर्ती भारतीय बजारमा सहजै लागुपदार्थ पाइने हुँदा पूर्वका धरान, इटहरी, दमक लगायतका प्रमुख शहरका युवाहरू विराटनगर आउने गर्छन् । उनीहरू सीमावर्ती बजारमा लागुपदार्थ सेवन गर्नुका साथै ओसारपसार समेत गर्ने गर्छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६