भोजपुर : तराईका शहर बजार र गाउँतिर त धेरै देखिन्छन् टेम्पो । किनकि त्यहाँको दैनिकीमा अनिवार्य बनिसक्यो यो साधन ।
तर अब भने दुर्गम मानिएको पूर्वी पहाडी जिल्ला भोजपुरका डाँडातिर पनि टेम्पो (अटोरिक्सा) हुइँकिन थालेका छन् ।
‘तराईतिर त देखेकै थियौं, अब त हाम्रै गाउँमा पनि छ्यासछ्यास्ती पो आउन थाले’, यो भनाइ हो भोजपुर नगरपालिका–८ का सञ्जिव कार्कीको ।
तराईका धरान, इटहरी, विराटनगर जस्ता शहरमा भेडाबाख्राको बथानसरी देखिने ‘टेम्पो’ भोजपुर र ग्रामीण क्षेत्रका स्थानीयबासीका लागि राम्रो र नौलो खाले सवारीको साधन बन्न पुगेको छ ।
सवारीका लागि मात्र होइन, साँझबिहान कोही बिरामी भएर स्वास्थ्य संस्थासम्म लानुपरेमा पनि टेम्पो भरपर्दो साधन बनेको छ । ‘टेम्पो चालकको फोन नम्बर राखेर बोलाउने हो, समस्यामा परेको बेलामा सहज हुन्छ’, भोजपुर नगरपालिकाका–६ का राजु तामाङले भने ।
लेगुवा–भोजपुर सडक कालोपत्रेको काम सकिने तरखरमा छ । सो सडकको अवस्था त राम्रो छ, तर पनि गाउँगाउँका धुले सडकमा समेत अहिले टेम्पोले सेवा दिइरहेको छ । भोजपुर बजारका तारा श्रेष्ठ भन्छन्, ‘सदरमुकाम वरिपरि त कति टेम्पो छन् र, गाउँगाउँमा पो बढी छन् त ।’ उनले भने जिल्लाका ग्रामीण क्षेत्रीय बजारहरूमा टेम्पोको संख्या बढी देख्न सकिन्छ ।
काम नभएर पहिला साथीभाइसँग गफ गर्दै चिया खानेहरू समेत अहिले टेम्पो किनेर व्यवसायी बनेका छन् । जरायोटार घर भएका देवी गौतमले विदेश छोडेर पाँच लाख रुपैयाँ ऋण लिएर किनेको टेम्पो प्याउली बजारमा चलाउन थालेसँगै उनको दैनिकी राम्रो बन्दै गएको छ ।
ग्रामीण भेगका मानिसलाई सेवा दिनु त छँदै छ, त्यसमाथि पनि उनले राम्रो आम्दानी गर्ने गर्छन् । दिनभर गाउँमा त्यसै लर्खरिएर बाँकी समय व्यतीत गर्ने उनको जीवनमा अहिले एकाएक परिवर्तन आएको छ ।
‘पहिले काम पनि हुन्थेन, साथिभाइसँग लर्खरियो, बस्यो दिन बितिहाल्थ्यो । तर यो पेसा अंगालेपछि दैनिक जीवनमा नै परिवर्तन आएको छ’, उनले भने, ‘घरकै खाना खाएर काम गर्न सकिने यो सजिलो पेसाले यहाँका मानिसलाई सहज सेवा पनि पुगेको छ र आफूलाई पनि घरखर्च, बालबच्चाको पढाइ खर्च धान्न पनि सजिलो भएको छ ।’
प्याउली बजारसम्म राम्रो सडक पुगेकाले प्याउली आसपासका तिवारीभञ्ज्याङ, चम्पे, चरम्बी, याङपाङ, याकु, जरायोटारका मानिसहरू टेम्पो चढ्न आउने गरेका छन् । टेम्पो चढ्नलाई विशेष गरी प्याउली बजारमा शनिबार र बुधबारको दिन ग्रामीण भेगका मानिसको घुइँचो लाग्ने गर्छ ।
ग्रामीण भेगमा सडकको पनि स्तरोन्नति हुन सकेमा त्यस क्षेत्रका सर्वसाधारणका लागि टेम्पो पनि राम्रो सवारीको साधन बन्ने गाउँबासीको भनाइ छ । संघीयतासँगै स्थानीय निकायहरूमा जमघट समेत बढी हुने भएकाले सदरमुकामभन्दा गाउँबस्तीमा टेम्पोको माग बढी देखिएको छ ।
भोजपुर सदरमुकाममा पनि अहिले टेम्पोको संख्या बढ्दै जान थालेको छ । सुरुमा दुइटा टेम्पोले सर्वसाधारणलाई सेवा दिइरहेको भए पनि अहिले मिनेटमिनेटमा टेम्पो कुद्ने गरेका छन् । विशेष गरी बजार वरपरबाट मानिस र साना बोझका सामानहरू ओसारपसार गर्न घण्टौँ भ्याइनभ्याई हुन्छ, यहाँ टेम्पोलाई । अहिले टेम्पोले दैनिक रुपमा शनिबारे हटिया लाइन, बजार क्षेत्र, पानीट्यांकी, देउराली, टक्सार, हस्पिटल, एयरपोर्ट लगायतका स्थानमा मात्र नभई सदरमुकाम नजिकका बोखिम, भैँसीपंखासम्म यात्रु र सामान ओसारपसार गर्ने गर्छन् ।
आफ्ना लागि छोटो दूरीको यात्राको आनन्द र किराना पसलका सामानहरू बजारदेखि ल्याउन टेम्पो एक मात्र सहज, सुरक्षित, सुलभ साधन भएको भोजपुर नगरपालिका–५, बोखिमका व्यापारी हरि प्रधान बताउँछन् । उनले भने, ‘पसलका सामानहरू कतिपय ठूला बसले बोक्न पनि मान्दैनन्, बोकिहाले पनि बसको छतमा जथाभावी राखिने हुँदा सुरक्षित पनि हुँदैन । तर त्यहीँ बजारदेखि दुई सय पचास रुपैयाँ तिरेपछि आनन्द, सुरक्षित र रमाइलो तरिकाले घरै अगाडि ल्याइदिन्छ ।’ प्रधान जस्ता बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरूको टेम्पोमा चढ्ने लर्को भेटिन्छ ।
बिहान–साँझै यात्रुको ओइरो लाग्ने यहाँ टेम्पोले देउरालीदेखि बजारसम्म एक सय, एयरपोर्ट टक्सारदेखि बजारसम्म आठ सय, बजारभित्र पचास र हटिया लाइन, पानीट्यांकीबाट बजारसम्म एक सय पचास रुपैयाँ रिजर्भ भाडा लिने गरेको व्यवसायीहरू बताउँछन् ।
एकैचोटी पाँच जनासम्म यात्रु अटाउने टेम्पोले दैनिक तीन हजारदेखि चार हजार रुपैयाँसम्म आम्दानी हुने गरेको विदेशबाट फर्किएर सदरमुकाममै टेम्पो चलाइरहेका अर्जुन तामाङ बताउँछन् । उनले अर्काको देशमा गुलामी गर्नुभन्दा आफ्नै ठाउँको सेवा गर्नु राम्रो ठानेका छन् ।
भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका, पौवादुम्मा गाउँपालिका, अरुण गाउँपालिका र भोजपुर नगरपालिकामा करिब चार दर्जनभन्दा बढी टेम्पो सञ्चालनमा छन् । बजार क्षेत्रमा भने सवारीका लागि मात्र नभएर होटल सञ्चालकहरूका लागि राम्रो सुविधा पुगेको छ टेम्पोले ।
भोजपुरमा बुधबार र शनिबार गरी दुई दिन हटिया लाग्ने गरेको छ । हटियामा खरिद गरेका सामग्री घरसम्म पु¥याउन टेम्पोबाट सहज हुने स्थानीय सुस्मा प्रधान बताउँछिन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६